जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे

रासस

बुधबार, २९ असार २०७९, २१ : ३२
जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनावादी गीतहरुले नै आफू मुख्यमन्त्री भएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको ‘जीवन शर्मा एकलसाँझ’ कार्यक्रममा उहाँले यस्तो बताएका हुन्  ।

मुख्यमन्त्री पाण्डेले कम्युनिष्टले जनता जगाउने क्रममा जनवादी गीतको प्रयोग गरिएको र यही गीतले जनता जाग्दै व्यवस्था परिवर्तनसम्मको अवस्था सिर्जना हुँदा सोही क्रममा आफू मुख्यमन्त्री भएको जनाए । 

जनताको वास्तविकता बोक्ने गरेको जनवादी गीतहरुले सामाजिक र सांस्कृतिक क्रान्ति भएको उनको भनाइ छ । सोही प्रेरणाका आधारमा कम्युनिष्ट नेता ठाँउमा पुग्दा गर्ने रहेछन् भन्ने विश्वास जनतालाई दिलाउनका लागि समाजवादी वडा कार्यक्रमको थालनी गर्न लागेकोसमेत उनले बताए  । 

प्रदेश सरकारले समाजमा पिछडिएकाका लागि छानाको व्यवस्था गरिदिने बताउँदै उहाँले साउनदेखि नै वनकरियाको घर बनाउन सुरु गरिने जानकारी दिए  ।

आजको एकलसाँझ चार दशकभन्दा लामो समयदेखि अनवरतरूपमा जनताका पक्षमा गीत गाउँदै आएका जीवन शर्माको हेटौँडामै पहिलो एकल गायन प्रस्तुति भएको हो ।

प्रतिक्रिया दिनुहोस