अमेरिकाले विदेशमा गरेका कूहरूको योजना आफूले बनाएको जोन बोल्टनको दाबी

सफल खबर संवाददाता

बुधबार, २९ असार २०७९, १७ : १४
अमेरिकाले विदेशमा गरेका कूहरूको योजना आफूले बनाएको जोन बोल्टनको दाबी

काठमाडाैँ । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले विदेशमा कू गराउनका लागि योजना बनाउँदा आफूले पनि सहयोग गरेको बताएका छन् । मंगलवार सीएनएनसँग कुरा गर्दै बोल्टनले यो खुलासा गरेका छन् । सीएनएनका एंकर जेक ट्यापरसँग कुरा गर्ने क्रममा बोल्टनले विदेशमा कू गराउने क्षमता ट्रम्पसँग नरहेको बताए । उनले भने, ‘कूको योजना बनाउन सहयोग गरेको व्यक्तिका हैसियतले भन्नुपर्दा त्यसका लागि निकै धेरै मेहनत गर्नुपर्छ । ट्रम्पमा त्यो क्षमता थिएन ।’

ट्रम्पको प्रसंग किन उठेको हो भने सन् २०२१ को जनवरीमा अमेरिकी संसद् भवनमा ट्रम्पसमर्थकहरूले आक्रमण गरी बाइडनको जीतलाई उल्ट्याउन खोजेका थिए । त्यो एकप्रकारको कूको प्रयास थियो । अहिले त्यसका विषयमा अमेरिकी संसदमा सुनुवाइ चलिरहेको छ । 

ट्यापरले बोल्टनलाई कुन देशमा कूको प्रयास गरिएको थियो भनी सोधे ।भेनेजुएलाको नाम लिएपछि बोल्टनले थपे, ‘म यसको विशिष्ट पक्षमा जान चाहन्नँ । त्यो प्रयास सफल भएन ।’

सन् २०१९ मा राष्ट्रिय सुरक्षा सल्लाहकार छँदा बोल्टनले खुला रूपमा भेनेजुएलाका विपक्षी नेता खुवान गुआइदोको समर्थन गर्दै समाजवादी राष्ट्रपति निकोलास मदुरोलाई हटाउनुपर्ने बताएका थिए । तर मदुरो सत्तामा बसिरहे । 

प्रतिक्रिया दिनुहोस