चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, ११ : २३
चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

काठमाडाैँ ।चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँगको समन्वयमा नगरपालिकाले निःशुल्क रगत वितरणको व्यवस्था गर्न लागेको हो । 

नगरप्रमुख जीवन खत्रीका अनुसार नगरवासीलाई कुनै पनि शुल्कबिना नै रगत उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि रगत भण्डारण तथा सेवा शुल्कबापत रकम लिइँदै आएकोमा उक्त शुल्क नगरपालिकाले तिरिदिने गरी तयारी अगाडि बढेको हो । 
नगरपालिका र रेडक्रसबीच नगरवासीलाई आवश्यक रगत रेडक्रसले दिने र त्यसवापतको रकम नगरपालिकाले उपलब्ध गराउने सम्झौता भइसकेको नगरप्रमुख खत्रीले जानकारी दिए । 

नगरपालिकाले ज्येष्ठ नागरिकलाई घर–घरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने र चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने योजना अघि सारेको छ । त्यस्तै, क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्श गर्दै निःशुल्क क्यान्सर जाँचको व्यवस्था गर्ने योजना बनाइएको नगरप्रमुख खत्रीले बताए । 

नगरभित्रका विद्यालयमा छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, सामुदायिक विद्यालयमा विद्युतीय बस सञ्चालन गर्ने नीति लिँदै त्यसका लागि अनुदानको व्यवस्था गर्ने, विद्यार्थीलाई खाजा कार्यक्रमका लागि सरकारले उपलब्ध गराएको प्रतिव्यक्ति रु १५ मा नगरपालिकाले रु १० थपेर रु २५ पु¥याएको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस