प्रदेश १ को नाम भूगोलका आधारमा राख्न सकिन्छः मन्त्री कार्की

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १९ : ५०
प्रदेश १ को नाम भूगोलका आधारमा राख्न सकिन्छः मन्त्री कार्की

मोरङ । प्रदेश १ को नाम भूगोलको आधारमा राख्न सकिने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताएका छन्।

विराटनगरस्थित प्रदेश सभामा नेपाली काग्रेस संसदीय दलद्वारा आयोजित ‘संघीयता कार्यान्वयनमा हाम्रो भूमिका र आगामी अभिभारा’ विषयक छलफलमा बोल्दै मन्त्री कार्कीले नामाकरणको विषयमा सहमतिनजिक पुगेको बताए।

छलफलमा उनले कांग्रेस, नेकपा माओवादी, जसपालगायतका दल भुगोलका आधारमा नाम राख्न सहमत भएको बताए। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्नो अडानबाट बाहिर निस्कन नसक्दा नामको विषय रोकिएको उनको भनाइ छ। उनले भने, ‘यहाँ भुगोलको नाममा एमाले सकारात्मक हुन बाँकी छ। एमालेले भुगोलमा सकारात्मक हुँदा यसै अधिवेशनबाट नामले पूर्णता पाउनेछ।’

प्रदेश नामाकरणका लागि सभामुखको भूमिका पनि सकारात्मक नदेखिएको उनको भनाइ छ। उनले भने, ‘सभामुखले व्यवस्थापिकाको काम गर्नु हुँदा नामले पूर्णता पाउनेछ। तर उहाले इच्छा शक्ति देखाउन सक्नुभएको छैन।’

प्रतिक्रिया दिनुहोस