प्रदेश १ को नामाकरणमा जुटेन कुनै सहमति

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, २१ : १०
प्रदेश १ को नामाकरणमा जुटेन कुनै सहमति

मोरङ । प्रदेश १ को नामाकरणको विषयमा बसेको सर्वदलीय बैठक सहमति जुट्न नसकी सकिएको छ। विराटनगरमा बसेको सर्वदलीय बैठकपछि प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले नामाकरणका लागि दलहरुबीच सहमति बनाउने प्रयास जारी रहेको बताएका छन्।

पत्रकारसँगको संक्षिप्त कुराकानीकाक्रममा मुख्यमन्त्री राईले शुक्रबार बसेको बैठकमा दलहरुबीच सहमति खोज्ने प्रयास भएपनि नामको विषयमा प्रस्ट हुन नसकेको प्रस्ट्याए। उनले नामाकरण यसै अधिवेशनबाट टुंग्याउनेमा सबै सहमत भएपनि यही नाम राख्ने विषयमा भने फरक धारणा कायम रहेको उल्लेख गरे।

उनले भने, ‘हामी प्रदेशको नाम यसै अधिवेशनमा राख्न आतुर छौँ। तर, सकभर सहमतिबाटै नत्र प्रक्रियाको विषय त छदैछ। दलपिच्छेका नामका विषयमा छलफल भइरहेको छ।अब चाडै टुंगोमा पुग्नेछौ।’

अहिले विभिन्न दलले प्रस्ताव गरेका वा निर्णय गरेभन्दा वैकल्पिक नामको विषयमा समेत अर्को बैठकमा छलफल गर्ने गरी बैठक सम्पन्न भएको मुख्यमन्त्री राईको भनाइ छ।

प्रदेशको नामको विषयमा मुख्यतः नेकपा माओवादीले एकल पहिचान, एकीकृत समाजवादीको बहुपहिचान र नेकपा एमालेले भूगोलको पहिचान, जसपाले मिश्रित नाममा जोड दिँदै आएको उनले बताए।

किरात प्रदेश र किरात कोसी राख्दा हुने भनेर जसपाबाट सकारात्मक प्रस्ताव आएको उनले बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले सर्वदलीय बैठकमा सहमति बन्न नसकेको बताए।

सबै दलहरुको आ आफ्नै धारणा राख्ने काम भएको बताएका उनले अब अर्को बैठक सकेसम्म चाँडै हुने र सहमतिको प्रयास राख्ने जानकारी दिए।बैठकमा दलहरुबीच सहमतिमा पुग्ने गरी अघि बढ्नुपर्नेमा जोड दिँदै प्रमुख सचेतक राईले सहमति नभए प्रक्रियाको विकल्प बाँकी नै रहेको बताए।

प्रतिक्रिया दिनुहोस