चैतमा आइजिपी बन्न अहिलेदेखि नै दौडधुप

पत्रपत्रिकाबाट

विहीबार, २३ असार २०७९, ०७ : ४५
चैतमा आइजिपी बन्न अहिलेदेखि नै दौडधुप

काठमाडौं । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी( लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको थियो।

एसएसपीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणालाई डिआइजीमा बढुवा सिफारिस गरिएको थियो।

सिफारिस अनुसार डिआइजिमा बढुवा भएका १७ जनाले नै आइतबार डिआइजीको दर्ज्यानी चिह्न (फुली( लगाए। उनीहरूलाई प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरी डिआइजीको जिम्मेवारी प्रदान गरे। नेपाल प्रहरीले यिनै १७ जनामध्येबाट आठ महिनापछि नयाँ आइजिपि बन्ने सम्भावना बलियो छ।  

महानिरीक्षक सिंहको कार्यकाल अर्को कुनै आश्चर्य नभए चैतको दोस्रो साता सकिन्छ। नेपाल प्रहरी नियमावलीअनुसार प्रहरी कर्मचारीको अधिकतम सेवा अवधि ३० वर्ष छ भने उमेर हद ५६ वर्ष। सेवा अवधिका कारण महानिरीक्षक सिंह चैत दोस्रो साता अवकाशमा जाँदैछन्। उनी २०४९ चैत १२ गते सेवा प्रवेश गरेका थिए। उनी चैतसम्म नै आइजिपी रहनेरनरहने प्रश्नको उत्तर सर्वोच्च अदालतको हातमा पनि निर्भर छ।

उनको नियुक्तिविरुद्ध अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन्। मुद्दा विचाराधीन छ। मुद्दाको फैसला आइजिपी सिंहको पक्ष वा विपक्षमा जेसुकै आए पनि अहिले डिआइजीमा बढुवा भएका १७ जनामध्येबाटै चैत दोस्रो सातापछि नयाँ आइजिपी हुने सम्भावना बलियो छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस