राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्न इच्छुक संघ संस्थाहरूसँग आवेदन माग्यो

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १७ : २८
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्न इच्छुक संघ संस्थाहरूसँग आवेदन माग्यो

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्न इच्छुक संघ संस्थाहरूसँग आवेदन मागेको छ। बोर्डले सोमबार एक सूचना प्रकाशित गरी असार २६ गतेभित्र आवेदन दिन इच्छुक संघ संस्थाहरूलाई आग्रह गरेको हो।

‘एसइई नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रणबाट प्राप्त गरी एसएमएस,आइभिआर टेलिफोन र वेबसाइट सेवाको माध्यमबाट जानकारी दिन इच्छुक संघ‚ संस्था वा कम्पनीले सेवाको विवरण खोली निवेदन दिनुहोला,’ सूचनामा भनिएको छ।

२०७८ सालको एसइई नतिजा यही असार मसान्तभित्र प्रकाशित गर्ने बोर्डको तयारी छ। एसइई गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

प्रतिक्रिया दिनुहोस