पहिलाे पटक एकसाथ पर्दामा देखिँदै पूजा र अनमोल

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, ११ : १०
पहिलाे पटक एकसाथ पर्दामा देखिँदै पूजा र अनमोल

काठमाडाैँ। अभिनेता अनमोल केसी र अभिनेत्री पूजा शर्मा पहिलो पटक एकसाथ पर्दामा देखिने भएका छन्। शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत पूजा आफ्नो नयाँ ‘प्रोजेक्ट’बारे जानकारी दिएकी हुन्। पूजाको होम प्रोडक्सनबाट निर्माण हुने फिल्मको निर्देशन सुदर्शन थापाले गर्नेछन्। पूजाले यो प्रोजेक्टलाई आफ्नो ड्रिम प्रोजेक्ट बताएकी छिन्। कात्तिकपछि छायांकनमा जाने फिल्मको नाम भने तय भएको छैन। 

शुक्रबार नयाँ प्रोजेक्ट घोषणा गर्दै अनमोलसँग काम गर्ने अवसर जुरेको खुसी व्यक्त गरेकी छिन्। 'मेरो सपनाको प्रोजेक्टमा जोडिन आइपुगेका प्रिय नायक अनमोल केसीको साथले झनै उत्साह मिलेको छ’, उनले लेखेकी छिन्, ‘अनमोल र मैले केही चलचित्रमा एकसाथ काम गर्ने जमर्को यसअगाडि नगरेका होइनौँ। तर, समय नआई कुनै पनि कुरा नहुने रहेछ। अब भने समयले अनमोल र मलाई एउटै चलचित्रमा जोडिदिएको छ।' 

नयाँ फिल्मको काम सुरु हुनुअघि अनमोलले 'छड्के २' को छायांकन गर्नेछन्। सुदर्शन थापाले 'प्रसाद २' को काम सक्नेछन् भने पूजाले प्रदर्शनको मुखमा रहेका दुई फिल्म 'सम्झना बिर्सना' र 'सम्हालिन्छ कहिले मन'लाई समय दिनेछिन्। 

पूजा र अनमोल धेरै ‘फ्यान फलोइङ’ हुने नेपाली कलाकारमध्ये पर्छन्। पूजाले धेरै अघिदेखि अनमोलसँग काम गर्ने इच्छा जाहेर गरेको भए पनि मौका जुरेको थिएन। अब भने पूजा र अनमोललाई पहिलो पटक जोडीको रूपमा पर्दामा देखिने भएको छ। 

कोरोनापछि पूजा र अनमोलका एकएक वटा फिल्म प्रदर्शनमा आएका थिए। जसमा पूजाको 'म यस्तो गीत गाउँछु २' कोरोनापछिको पहिलो हिट फिल्म बनेको थियो भने अनमोलको 'ए मेरो हजुर ४' ले केजीएफ च्याप्टर २ जस्तो फिल्मसँग जुधेर पनि लगानी सुरक्षित गरी राम्रो मुनाफा कमाउन सफल भएको थियो। 

प्रतिक्रिया दिनुहोस