काठमाडौं । सत्तारुढ दल जनता समाजवादी (जसपा) को आन्तरिक किचलो विभाजनमा पुगेर टुंगिने भएको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच आपसी सहमतिमै पार्टी विभाजन गर्ने समझदारी जुटेको हो ।
हिजो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुवै अध्यक्षबीच भएको तीन घण्टा लामो छलफलपछि हार्दिकतापूर्वक छुट्टिने सहमति बनेको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार भट्टराईले पूर्वनयाँ शक्ति पार्टीका नेता÷कार्यकर्ता जसपामा समायोजन हुन नसकेकाले छुट्टिने प्रस्ताव राखेकोमा उपेन्द्रले सहमति जनाएका हुन ।
जनाइएअनुसार अब भट्टराईले अलग्गै पार्टी खोल्नुहुनेछ । अहिलेको जसपा उपेन्द्रकै नेतृत्वमा रहनेछ । नेता–कार्यकर्ता र सांसदलाई पार्टी रोज्न दिनुपर्नेमा दुवै नेता सहमत भएको बताइएको छ ।
पछिल्लो समय केन्द्रीय अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच विवाद चर्किएको थियो । अस्ति १३ गते भएको यादव पक्षको बैठकले भट्टराईसहित चार जना केन्द्रीय नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । त्यसपछि बढ्दै गएको विवादले पार्टी विभाजनको रुप लिनसक्ने अनुमान गरिएका बेला दुई अध्यक्ष मिलेरै पार्टी फोर्न सहमत भएका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १४ : २६
लेखकबाट थप