'छड्के २' मा अनमोल

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १४ : ०३
'छड्के २' मा अनमोल

काठमाडौँ । केही हप्ताअघि 'हनीबनी'बाट बाहिरिएका अभिनेता अनमोल केसी 'छड्के २' मा अनुबन्धित भएका छन्। निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा अनमोल अनुबन्धित भएका हुन्। 

९ वर्षअघि प्रदर्शनमा आएको फिल्म छड्केको सिक्वेलको रूपमा 'छड्के २' बन्न लागेको हो। ठूलो क्यानभास र धेरै चर्चित कलाकारको अभिनय रहेको फिल्म व्यावसायिक रूपमा असफल सावित भएको थियो। अघिल्लो फिल्ममा भएका कमी कमजोरीलाई सुधार्दै निगमले 'छड्के २' बनाउन लागेका हुन्। 'छड्के' प्रदर्शनमा आएको पाँच वर्षपछि निगमको निर्देशनमा बनेको 'लालपुर्जा' पनि व्यावसायिक रूपमा सफल हुन सकेको थिएन। 

नेपालको सबैभन्दा महँगा अभिनेताको रूपमा चिनिने अनमोलले यसअघि खेलेका फिल्महरू भन्दा 'छड्के २' फरक हुने देखिन्छ। पूर्ण रूपमा व्यावसायिक फिल्म खेलिरहेका अनमोल र फिल्ममा कलात्मक प्रयोग मन पराउने निर्देशक निगमको सहकार्य कस्तो हुन्छ हेर्न बाँकी छ। 

एक्सन कमेडी जनरामा बन्ने फिल्मको छायांकन चितवन र मनाङमा हुने बताइएको छ। साउन अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अन्य कलाकारको टुंगो लाग्न भने बाँकी छ। यसअघि प्रदर्शनमा आएको 'छड्के'मा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, अर्पण थापा, रोविन तामाङ, नम्रता श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको थियो। 

प्रतिक्रिया दिनुहोस