६ जनामध्ये को बन्लान् कार्यकारी निर्देशक?

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १३ : १०
६ जनामध्ये को बन्लान् कार्यकारी निर्देशक?

काठमाडौँ । वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक बन्न आवेदन दिनेको नाम सार्वजनिक भएको छ। बिहीबार वैदेशिक रोजगार बोर्डले आवेदन दिनेमध्ये ६ जनाको नाम सार्वजनिक गरेको हो।बोर्डले गत २० जेठमा  सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये योग्यता पुगेका ६ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो।

 दरखास्त दिएकामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरूको आवेदन स्वीकृत भएको बोर्डले जनाएको छ।  बोर्डका अनुसार निजगढ–८ बाराका निर्मल कुमार उप्रेती, मध्यनेपाल नगरपालिका–४ लमजुङका तोयाराज अधिकारी, टोखा नगरपालिका–७ काठमाडौंका दुर्गादत्त ढकालको उम्मेदवारी परेको छ। 

त्यस्तै, कोल्हवी नगरपालिका–४ बाराका डा। द्वारिका उप्रेती, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका युवराज बस्नेत र फलेवास–६ पर्वतका हरि कुमार श्रेष्ठको दरखास्त पनि स्वीकृत गरिएको छ।

हाल बोर्डको कार्यकारी निर्देशक राजन श्रेष्ठ रहेका छन्। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको पालामा श्रेष्ठ नियुक्त भएका थिए।  ६ वर्षे कार्यकाल पुरा हुन लागेसँगै कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस