रुससँगको लडाइँका लागि नेटोले पहिलेदेखि नै तयारी गरिरहेको स्वीकारोक्ति

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, ११ : ४७
रुससँगको लडाइँका लागि नेटोले पहिलेदेखि नै तयारी गरिरहेको स्वीकारोक्ति

काठमाडौँ । पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुससँगको लडाइँ हुन सक्ने सम्भावना देखेर सन् २०१४ देखि नै पूर्वी युरोपमा सैनिक तैनाथी बढाएको बुधवार बताएका छन् ।  स्पेनको राजधानी मड्रिडमा नेटो सदस्य तथा सहयोगी मुलुकहरूसँगको बैठकपछि स्टोल्टनबर्गले रुसलाई सन् २०१४ देखि डोनबास क्षेत्रमा बलप्रयोग गरिरहेको आरोप लगाए । तर त्यो वर्ष डोनेत्स्क र लुगान्स्क जनगणतन्त्रहरूले युक्रेनबाट स्वतन्त्रता घोषणा गरेदेखि नै किएभका सैनिकहरूले उक्त क्षेत्रका शहरमा गोली बर्साउँदै आएका छन् । 

जे भए पनि अमेरिकी नेतृत्वको नेटोले सन् २०१४ देखि पूर्वी युरोपमा आफ्ना सुरक्षाफौजको संख्या बढाउन थालेको स्टोल्टनबर्गले जानकारी दिए । 

‘हामीले यसका लागि तयारी सन् २०१४ बाट नै थालेका हौं,’ उनले भने । ‘त्यसैले हामीले पूर्वी भागमा हाम्रो उपस्थिति बढाएका हौं र नेटो साझेदारले प्रतिरक्षामा लगानी गर्न थालेका छन् अनि हामीले युद्धको तयारी पनि बढाएका छौं ।’नेटोका अनुसार, युरोपेली सदस्यहरू र क्यानडाले सन् २०१४ देखि अहिलेसम्म गरी प्रत्येक वर्ष १.२ प्रतिशतदेखि ५.९ प्रतिशत खर्च वृद्धि गरिरहेको छ । तर नेटोका ३० मध्ये १० सदस्यले मात्र आफ्नो कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रक्षामा खर्च गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस