लोकतन्त्रको विरुद्धमा षडयन्त्र भइरहेको छ : गृहमन्त्री बादल

सूर्यप्रकाश कँडेल

विहीबार, १७ जेठ २०७५, १८ : १४
लोकतन्त्रको विरुद्धमा षडयन्त्र भइरहेको छ : गृहमन्त्री बादल

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा लोकतन्त्रको विरुद्धमा षडयन्त्र भइरहेको दाबी गर्नु भएको छ । नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेला उद्घाटन समारोहलाई बिहीबार सौराहामा सम्बोधन गर्दै गृहमन्त्री बादलले यस्तो दाबी गर्नु भएको हो ।
यहाँ धर्मको नाममा अस्थिरता पैदा गर्ने प्रयास भइरहेको छ, उहाँले भन्नुभयो, यहाँ पुरानै व्यवस्था र निरंकुशता फर्काउने षडयन्त्र भइरहेको छ । लोकतन्त्रको विरुद्धमा षडयन्त्र भइरहेको छ । पत्रकारहरुले यस्ता कुराको खोजी गरेर उजागर गर्न सक्नुपर्ने उहाँले बताउनु भयो । श्रम नगरिकन अकूत सम्पत्ति कमाउनेहरुका विरुद्ध पत्रकारिताको प्रहार आवश्यक भएको उहाँको भनाइ थियो ।
गृहमन्त्री बादलले देश र जनताको विकास र समृद्धिका निम्ति देश र जनताको पक्षमा फोटो पत्रकारिता गर्नुपर्ने बताउनु भयो । ‘राष्ट्रिय स्वाधिनता र सुरक्षाको निम्ति फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ’ उहाँले भन्नुभयो, ‘देश र जनताको लागि पत्रकारिता गर्न जरुरी छ भन्ने संकल्प गर्दै लोकतन्त्रको सुदृढीकरणको लागि फोटो पत्रकारिता गर्नुहोस् ।’ 
मुलुकको समृद्धिको लागि सरकार र गृह मन्त्रालय सम्पूर्ण पत्रकार जगतसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै गृहमन्त्री बादलले भ्रष्टहरुको स्ट्रीङ अप्रेशनको लागि फोटो पत्रकारिता अपरिहार्य रहेको बताउनु भयो । विकास विरोधी दलाल, सिन्डिकेटका पक्षधर, भ्रष्टाचारी, लागुऔषधका कारोबारी, समयमा काम नसक्ने ठेकेदारहरुलाई पत्रकारले खलनायकको रुपमा उभ्याउनुपर्ने उहाँले बताउनु भयो । 


गृहमन्त्री बादलले विगतको जस्तो कछुवा गतिमा नभई छलाङ मार्दै तीब्र गतिको विकास क्रान्तिकारी तरिकाले गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशलाई दरिद्र मुलुकबाट समृद्ध मुलुक बनाउने ऐतिहासिक दायित्व सबैको काँधमा आएको विचार व्यक्त गर्नुभयो ।  विकास र समृद्धिको लक्ष्य प्राप्तिको लागि कार्यपालिका र चौथो अंग मानिएको पत्रकारिता क्षेत्रको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
भारतसँगको खुल्ला सीमाको कारण तस्करी भइरहेको बताउँदै गृहमन्त्री बादलले लामो दुरीमा रहेका आउट बोर्डर पोष्टमा रहेका सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न नसकेको जानकारी दिनुभयो । उहाँले अहिले ३५ हजार हाराहारी रहेका सशस्त्र प्रहरीको संख्या दोब्बर बनाएर सीमा क्षेत्रमा एक किलोमिटरको दुरीमा सशस्त्र प्रहरी पोष्ट राख्न आवश्यक भएको उहाँको भनाइ थियो ।
तत्कालको लागि सिसिटिभी र ड्रोन क्यामराको प्रयोग गरेर सीमा क्षेत्रको निगरानी गर्ने तयारीमा गृह मन्त्रालयले योजना बनाइरहेको उहाँले बताउनु भयो । गृहमन्त्री बादलले सीमा क्षेत्रका गाउँगाउँबाट सुरक्षा चौकीको माग आइरहेको जानकारी दिँदै जनशक्ति थप गर्न नसकिएको अहिलेको अवस्थामा प्रविधिको प्रयोग गरेर सरकारले जनताको सुरक्षाको लागि काम गर्ने बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विगतको दिनमा केही सम्भ्रान्त वर्गको हितमा पत्रकारिता प्रयोग भएको भएपनि अबको दिनमा आवाजविहीनहरुको आवाजको रुपमा पत्रकारिता उभिन सक्नुपर्ने बताउनु भयो । उहाँले पत्रकारिता कुनै व्यक्ति तथा सरकारको पक्षमा नभएर समृद्ध मुलुक निर्माणको लागि देश र जनताप्रति जवाफदेही हुनुपर्ने बताउनु भयो । मुलुकको समृद्धिको लागि फोटो पत्रकार तथा सबै क्षेत्रको सहयोग हुन आवश्यक रहेको पूर्वमन्त्री पाण्डेको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेलले समाचारलाई विश्वसनीय बनाउने काम फोटो पत्रकारकै कारण सम्भव भएको बताउनु भयो । उहाँले आफैले लगानी गरेर क्यामरा किन्नु पर्ने बाध्यतामा रहेका फोटो पत्रकारहरुको हकमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले छुट्टै व्यवस्था गर्न आवश्यक भएको बताउनु भयो । 
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापाले हजारौँ शब्दले वर्णन गर्न नसकेका कुरालाई एउटा फोटोले वर्णन गर्ने हुनाले फोटो पत्रकारिता महत्वपूर्ण भएको बताउनु भयो । मुलुकको हरेक परिवर्तनमा फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकोले आगामी दिनमा समेत मुलुकलाई पर्यटनको माध्यमबाट चिनाउनको लागि फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने थापाको भनाइ थियो । 
भेलाको उद्घाटन समारोह महासंघका अध्यक्ष ध्रुव आलेको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल फोटो पत्रकार महासंघको आयोजनामा भएको जिल्ला अध्यक्षहरुको भेलामा देशका विभिन्न ३२ शाखाबाट ५० जना सहभागी छन् । 
 

प्रतिक्रिया दिनुहोस