मधेश प्रदेश : २० मन्त्री फेरिए, तर फेरिएनन् मुख्यमन्त्री

पत्रपत्रिकाबाट

आइतबार, १२ असार २०७९, ०७ : ४३
मधेश प्रदेश : २० मन्त्री फेरिए, तर फेरिएनन् मुख्यमन्त्री

जनकपुरधाम । राजनीतिक दलहरूबीच विवाद र झगडाले नेतृत्व परिवर्तन हुँदा प्रदेशहरू राजनीतिक भागबन्डा मिलाउने थलो बन्न थालेको छ। प्रदेश गठन भएर विधिवत् कार्यान्वयन भएको चार वर्षमा प्रदेश नेताहरूका लागि मन्त्री उत्पादन गर्ने उर्वरभूमि बनेको हो।

संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको गठबन्धनले २०७४ मंसिरको प्रदेश प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याएसँगै फागुन ३ मा मो। लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री बनेका थिए। सुरुमा सात सदस्यीय मन्त्रिपरिषद्का साथ शपथ लिएका राउत मुख्यमन्त्रीमा निरन्तर छन् तर मन्त्रीहरू भने फेरिएका फेरियै छन्। यसक्रममा उनले एकल बहुमत हुँदै फरक–फरक गठबन्धनको अभ्यास गरे। 

०७४ फागुन १६ र २०७५ साउन ९ गते भएको पुनर्गठन पश्चात् मुख्यमन्त्रीलगायत मन्त्री र राज्यमन्त्री गरी १३ सदस्यीय मन्त्रिपरिषद्को गठन भएको थियो। राउत नेतृत्वमा २१ सांसद मन्त्री र राज्यमन्त्री भइसकेका छन्। १ सय ७ सदस्यीय प्रदेशसभा सांसदको करिब २० प्रतिशत हो। उनी निकटका पार्टीका तीनजना मन्त्री निरन्तर रहे पनि अन्य भने परिवर्तन भएका छन्।  

प्रदेश सरकार गठनको ५ वर्ष पूरा हुन केही समय बाँकी छँदा यो अवधिमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको मुख्यमन्त्री परिवर्तन भईरहँदा मुख्यमन्त्री लालबाबु राउतको ५ वर्षे कार्यकाल पूरा हुन लागेको भाग्यमानी मुख्यमन्त्रीको रुपमा चिनिन्छन्। यद्यपि उनले सरकार टिकाउन पटक–पटक कसरत गर्नुपरेको छ।

सोही कसरत स्वरुप मधेश प्रदेश सरकार गठनदेखि हालसम्म ७ पटक भन्दा बढी मन्त्रीमण्डल विस्तार वा फेरबदल गरिसकेका छन्। तत्कालीन संघीय समाजवादी पार्टीबाट मधेशको प्रदेशसभामा निर्वाचित भएका लालबाबु राउतले २०७४ साल फागुन ३ गते दुई मन्त्री सहित मुख्यमन्त्री पदको शपथ लिए। 

मधेशमा तत्कालिन संघिय समाजवादी पार्टी र तत्कालिन राजपालाई सरकार चलाउने जनादेश थियो। सोही अनुरुप प्रदेश सरकार पनि गठन भयो। मुख्यमन्त्री राउतले पहिलो पटक २०७४ फागुन १६ गते ४ मन्त्री र ३ राज्यमन्त्रीलाई मन्त्रीमण्डलमा सहभागी गराएर पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरे। त्यसको ५ महिनापछि राज्यमन्त्री नपठाएको तत्कालिन राजपाले २०७५ साउन ९ गते ३ जना राज्यमन्त्रीलाई मन्त्रीमण्डलमा शामिल गराए। मधेश प्रदेश सरकारको यो दोश्रो मन्त्रीपरिषद् विस्तार थियो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस