भागदौडमा परेर मोरक्कोमा १८ आप्रवासीको मृत्यु

एजेन्सी

शनिबार, ११ असार २०७९, १५ : २४
भागदौडमा परेर मोरक्कोमा १८ आप्रवासीको मृत्यु

युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएको भागदौडमा परेर मोरक्कोमा १८ जना आप्रवासीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। भागदौडका क्रममा केही प्रहरी पनि घाइते भएका छन्।

मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा उक्त घटना भएको हो। सुरक्षाकर्मीहरूले उनीहरूलाई सिमानाको दुवैतर्फबाट रोकेका थिए।

सिमानामा रहेको फलामको बार चढ्न खोज्दा उनीहरूको मृत्यु भएको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ। मानव अधिकार सङ्घले भने २७ जनाको ज्यान गएको बताएको छ। यद्यपि उक्त सङ्ख्या तत्काल पुष्टि भएको छैन। दुर्घटनामा ज्यान गुमानेमा अधिकांश अफ्रिकी नागरिक छन्।

यसैबीच, स्पेनका अधिकारीहरूले ४८ जना सिभिल गार्ड घाइते भएका तथा चारवटा गाडीमा क्षति पुगेको बताएका छन्। सिमाना पार गर्न सफल भएका आप्रवासीहरू स्थानीय आप्रवासी केन्द्रमा पुगेका र त्यहाँ उनीहरूको परिस्थितिको समीक्षा भएको थियो।

गत मार्चमा मेलिलालाई घेरेको ६ मिटर अग्लो बार नाघेर स्पेन छिर्ने प्रयास गरेका थिए। तीन हजार पाँच सयभन्दा बढी आप्रवासीको दुई दिनको त्यो प्रयासमा झण्डै एक हजार जना सफल भएका थिए। 

प्रतिक्रिया दिनुहोस