काठमाडौं । रुपन्देहीकी अमृता खत्री टण्डनको मृत्य भएको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो ।
प्रहरीले माइती र घर पक्षसँग बिहीबार सहमति जुटाएपछि माइती पक्ष दाहसंस्कारका लागि तयार भएको थियो । सोही सहमति अनुरुप अमृताको शुक्रबार तिलोत्तमा ३ स्थित मगरघाटमा दाहसंस्कार गरिएको अमृताका दाजु पुष्पक खड्काले जानकारी दिए ।
विभिन्न चरणमा भएको छलफलपछि बिहीबार दुवै पक्षबीच सहमति जुटेको हो । जस अनुसार घर पक्षले अमृताको नाममा कुनै काम गर्नेगरी अक्षयकोष बनाउने र छोराको शिक्षादीक्षाका लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिने सहमति भएको छ ।
गएको चैत ३० गते राति अमृताको शंकास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएको थियो । लामो समय आन्दोलनमा उत्रिएपछि पनि माग सुनुवाई नभएपछि माइती पक्षले लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको शव उठाउन मानेका थिएनन् ।
पाँचसय मिटरको दूरीमा रहेको माइतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको भनिए पनि माइती पक्षले भने उनको हत्या गरिएको भन्दै परिवारका सदस्यलाई कारबाही गर्न माग गर्दै आएका थिए । उनीहरुले अमृताको मृत्युमा श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनको हात रहेको भन्दै उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ०९ : ३२
लेखकबाट थप