काठमाडौं । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही असार ९ गतेबाट ११ गतेसम्म हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पूरा भएको छ।प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार प्रतिष्ठानकै प्राङ्गण पोखरा–१ बगर स्थित पृथ्वीनारायण क्याम्पसको उपल्लो गेटनजिकै ‘गण्डकी प्रज्ञा उत्सव’ को आयोजना गरिएको छ। उत्सवको पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारद्वारा पर्यटन, संस्कृति, धार्मिक सम्पदाको बारेमा चित्र कोरिनेछ।
असार १० गते गजल, कविता, मुक्तक र लघुकथा वाचन तथा ‘धनिरामको गोरु’ नामक नाटक मञ्चन गर्ने तयारी छ। यसका लागि पोखरेली युवा सांस्कृतिक परिवार, मुक्तक मञ्च कास्की, गजल सन्ध्या कास्की, लघु कथा प्रतिष्ठान नेपाल र इन्द्रेणी थिएटरसँग सहकार्य हुनेछ।
साहित्यिक कार्यक्रम तर्फ रमेश श्रेष्ठ र लक्ष्मी थापाका कविता, मन क्षेत्रीका गजल, कपिल शर्माका मुक्तकका अलावा लघु कथा समेत सुन्न पाइनेछ।
अन्तिम दिन असार ११ गते विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुनेछन्। गण्डकी प्रज्ञा सङ्गीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिँदै छ। अलावा १४ जना अनुसन्धानकर्ताहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रम समेत रहेको पनि प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले बताए।
गण्डकी प्रज्ञा उत्सवमा हुने सांस्कृतिक कार्यक्रममा कलाकारहरू हरिदेवी कोइराला, राजु परियार, राजु गुरुङ, पार्वती जि.सी., कर्णदास, बाबा राणा, रामभक्त जोजिजु र हार्मोनी ग्रुप पोखराको विशेष प्रस्तुति रहनेछ। राज बहादुर गुरुङ, विनोद बानियाँ, सन्तोष बस्याल, प्रिया गुरुङ, उषा गुरुङको प्रस्तुति पनि उत्सवमा हेर्न र सुन्न पाइने छ। तरेली सांस्कृतिक परिवारको नृत्य, झलक मान गन्धर्व पाठशालाको लोक धुन, बुद्धिमान दुरा ‘धम्पु’ समूहको ठाडो भाका र थारु, नेवार, गुरुङ, ब्राह्मण, मगर र क्षेत्री समुदायको झाँकी पनि प्रदर्शन हुनेछ। उत्सव अवधिभर पृथ्वीनारायण क्याम्पसको विज्ञान संकायका विद्यार्थीको तर्फबाट विज्ञान तथा प्रविधि प्रदर्शन समेत गरिनेछ।
कार्यक्रम गर्नुको मुख्य उद्देश्य नयाँ पुस्ताहरूलाई मौलिक संस्कृतिको बारेमा जानकारी दिन तथा उनीहरूमा अभिरुचि प्रदान गर्न भएको सदस्य सचिव श्रेष्ठ बताउँछन्।
निरन्तर यसै क्षेत्रमा लागेकाहरूलाई सम्मानमार्फत हौसला बढाउने सहित स्रष्टाहरूलाई एकेडेमीसँग साक्षात्कार गराउने पनि कार्यक्रमको लक्ष्य हो। गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्त्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्धन गर्न क्रियाशील बन्ने उपकुलपति गोरे गुरुङ बताउँछन्। आगामी वर्षदेखि वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना २०७८ वैशाख १५ मा भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, १३ : २२
लेखकबाट थप