काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण सेयर बजार निरन्तर घटेको बताएका छन्।
मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा सेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको बताएको उल्लेख गरे।
उनले पुँजीगत लाभकरसमेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको बताए। अध्यक्ष हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझावअनुसार काम अगाडि बढाइने बताए।
उनले भने, ‘ हामीले विज्ञहरुसँग लिएको रायको आधारमा अहिले बजार घटेर सेयर लगानीकर्तालाई अफ्ठ्यारो अवस्था सिर्जना हुनुमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ल्याएको मौद्रिक नीतिमा सेयर धितोकर्जामा ४/१२ को नीतिको कारण हो जस्तो लाग्छ। विज्ञहरुले पनि त्यही भन्छन्। ४/१२ को नीतिको कारण मार्केटमा सेलर्स मार्केट क्रेट भयो। बाहेस मार्केट भएन भन्दा अहिले निरन्तर रुपमा बजार तल जानुमा प्रमुख कारण हो भन्ने कुरा आउँछ।’
अध्यक्ष हमालले विश्वका अन्य देशमा सेयर लगानीकर्ता आन्दोलन गर्दै सडकमा नआउने भन्दै नेपालमा यस्तो अवस्था आउनु दुःखद् भएको बताए। उनले आगामी आर्थिक वर्षदेखि कुनै पनि कम्पनी मर्जरमा जाने निर्णय गरेपछि कारोबार रोकिने अवस्था हटाइने बताए।
अध्यक्ष हमालले लगानीकर्ताको सबै मागहरु पूरा गर्न सम्भव नभएको पनि बताए। लगानीकर्ताले उठाएका कतिपय माग बोर्डको अधिकार क्षेत्र बाहिरको भएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, २० : ५०
लेखकबाट थप