हिंसा न्यूनीकरणका लागि शसक्तिकरणको खाँचो

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, २० : ३७
हिंसा न्यूनीकरणका लागि शसक्तिकरणको खाँचो

काठमाडौं । सरोकारवालाहरुले कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि पत्रकार महिलाको शसक्तीकरणमा जोड दिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघको महिला विभागले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले लिङ्गका आधारमा हुने विभेद अन्त्यका लागि पेशागत, आर्थिक, सामाजिक रुपमा समेत महिलाहरु आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहालले पत्रकारिता क्षेत्रमा हुने लैङ्गिक हिंसाको एकिन तथ्य र तथ्याङ्क आउनेगरी अध्ययन अनुसन्धानको खाँचो औल्याए । उनले कार्यक्षेत्रमा हुने पत्रकार महिलामाथि हुने हिंसाका विषयमा बहस सुरु हुनु सकारात्मक भएको बताउदै समस्या समाधानका लागि सबै पक्ष सचेतनापूर्वक लाग्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष यशोदा तिम्सिनाले कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा विषयमा कार्यकपत्र प्रस्तुत गर्दै पछिल्लो समयमा डिजिटल हिंसाका घटना बढेको बताइन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचासंहिता पूर्णरुपमा कार्यान्वयन गरे हिंसाका घटना स्वत कम हुने उल्लेख गरे । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको सुरक्षाका लागि नेपाल पत्रकार महासंघले पत्रकार सुरक्षा निर्देशिका निर्माण गरेको बताए । 

महासंघकी उपाध्यक्ष तथा  महिला विभाग संयोजक बाला अधिकारीले पछिल्लो समय पत्रकार महिलामाथि कार्यक्षेत्रमा भएका हिंसाका घटनाहरु सार्वजनिक भइरहेको र मौखिक तथा लिखित उजुरी महासंघमा आउन थालेको बताइन् । 

 महासंघका महासचिव रोशन पुरीले कार्यक्षेत्रमा रहँदा कुनै पनि पत्रकारलाई हिंसा भएको खण्डमा महासंघमा उजुरी दिन आग्रह गरे । नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले पत्रकारितामा क्षेत्रमा लागेका महिलाहरु लामो समय सम्म पेशामा टिकिरहनु चुनौतीपूर्ण रहेको बताइन् ।
 

प्रतिक्रिया दिनुहोस