चिनीको मुल्य बढेको बढ्यै, सरकार भन्छ, अभाव हुदैंन

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, ०९ : १६
चिनीको मुल्य बढेको बढ्यै, सरकार भन्छ, अभाव हुदैंन

काठमाडौँ । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ ।

चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका प्रतिनिधिसँग बिहीबार छलफल गरेको हो । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूूल्यको विषयमा विभिन्न निकायका प्रतिनिधिसँग विभागमा छलफल गरिएको जानकारी दिए । चिनी उत्पादकले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताएको उनले जानकारी दिए ।

छलफलमा चिनी उत्पादक सङ्घका उपाध्यक्ष राजकुमार अग्रवालले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर ढुवानीमा परेको जानकारी गराएको महानिर्देशक शर्माले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर चिनी उत्पादनदेखि ढुवानीसम्म परेको भन्दै त्यसको कारण चिनीको मूल्य बढेको सङ्घले जनाएको छ । सङ्घले उद्योगबाटै प्रतिकिलो रु ९३.८३ मा चिनी बिक्री गर्ने गरेको छ ।

“उद्योगमै चिनीको मूल्य बढेको छ, उद्योग हुँदै होलसेल तथा खुद्रा पसलमा चिनी पुग्दा मूल्य बढी हाल्छ, अहिले चिनीको मूल्य बढ्नु स्वभाविक हो”, उनले भने । भारतले जुन १ तारिखदेखि चिनी निर्यातमा रोक लगाएको थियो । भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनी उद्योगी तथा व्यवसायीले किलोमै रु २० बढाएका छन् । यसअघि प्रतिकिलो रु ९० मा पाइने चिनी भारतको प्रतिबन्धपश्चात रु ११० पुगेको छ ।