बागमती प्रदेशको बजेटमा प्रतिपक्षको आपत्ति

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १९ : ०१
बागमती प्रदेशको बजेटमा प्रतिपक्षको आपत्ति

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित प्रतिपक्ष दलहरुले आपत्ति व्यक्त गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी वर्षको बजेटमाथिको सामान्य छलफलमा प्रतिपक्ष दल एमालेसहित नेमकिपा र विवेकशील साझा पार्टीका सांसदहरुले आपत्ति व्यक्त गरेका हुन् ।

उनीहरुले सरकारको बजेट जनताप्रति उत्तरदायी नभएको बताएका थिए । संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै एमालेका सांसद रामेश्वर पु्mयाँल, सीता लामा, सरेश नेपाल, दिपक निरौला, कैलाश प्रसाद ढुंगेलले सरकारले प्रदेशलाई घात गर्ने काम भइरहेको बताए । उनीहरुले प्रदेशको हितका लागि सरकारले काम गर्न नसकेको र बजेटले जनतालाई घात गरेको बताएका हुन् । सरकाले कार्यकर्ता पोस्ने र चुनावमुखि बजेट ल्याएको भन्दै उनीहरुले बजेटप्रति असन्तुष्टि व्यक्त गरे ।

सरकारले महगिले आक्रान्त भएका जनताको मागलाई सम्बोधन गर्न सकेन उनीहरुको भनाइ छ । एमालेका सांसदहरुले बजेट निर्वाचनमुखि भएकाले कार्यान्वयन हुन नसक्ने र सरकारले दीर्घकालिन योजना र विगतको सरकारले ल्याएका गौरवका आयोजनाहरुलाई समेट्न नसकेको बताए । उता प्रतिपक्ष दल राप्रपाका सांसद् रिना गुरुङ, रिता माझिले सरकारले बजेटमा सीमान्तकृत समुदायका नागरिकको माग सम्बोधन गर्न नसकेको बताए । उनीहरुले बजेटमा ती समुदायको नाम समावेश गरेपनि बारम्बार झुक्याउने काम गरेको आरोप लगाए ।

त्यस्तै बजेटमाथिको छलफलमा भाग लिँदै विवेकशील साझा पार्टी रमेश पौड्याल र विराजभक्त श्रेष्ठ योजना छनौट र बजेट विनियोजनको प्रक्रिया बदल्नु पर्छ । विगतको रवैया अनुसार बजेट आएको बताए । यसले सरकारको पूँजीगत खर्च प्रयाप्त हुन नसक्ने बताए । बजेट खर्च गर्न नसक्नुको सबै दोष कर्मचारी अभाव भनेर दिन नमिल्ने उनीहरुको भनाइ छ । त्यस्तै उनीहरुले बजेटले प्राकृतिक विपत्तिलाई न्युनिकरण गर्न सक्नु पर्ने र त्यसका लागि प्रकृतिको स्रोतको दोहन रोक्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए । नेपालको कर प्रणालीलाई नागरिक मैत्री बनाउन उनीहरुले माग गरे । नेपालले अब चक्रिय अर्थतन्त्रको नीति अनुसार हरित अर्थतन्त्रलाई विस्तृत बनाएर दिगो विकासका लक्ष्यलाई भेट्ने गरी कार्यक्रमहरु कार्यान्वयन गर्न उनीहरुको सुझाव थियो ।

त्यसै गरी प्रदेश सरकारको बजेटलाई सत्तारुढ गठबन्धनका सांसदहरुले स्वागत गरेका छन् । उनीहरुले बजेटले समग्र प्रदेशको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्दै प्रशंसा गरे । सत्तारुढ गठबन्धनमा आवद्ध दल नेपाली काँग्रेसका सांसदहरु नरोत्तम वैद्य, गिता वाग्ले, गिता वाग्ले, विजुला वर्मा, राजेन्द्र गुरुङ, जिवन डंगोल बजेटले जे गर्न सक्ने हो त्यसलाई मात्र समेटेको बताए । बजेटले महत्वाकांक्षी योजनाहरु नल्याएको बताए । उनीहरुले बजेट जनताप्रति उत्तरदायी रहेको भन्दै समग्र प्रदेशको विकासमा बजेट फलदायी हुने विश्वास व्यक्त गरे ।

यता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रका सांसदहरु सीता अधिकारी, युवराज दुलाल, जगत बहादुर सिंखडा, हिरानाथ खतिवडा, भावना सुवेदी, रामलाल महत्तो बजेट वैज्ञानिक भएको बताए । उनीहरुले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रलाई विकास गर्ने योजनाहरु समेटिएको बताए । उनीहरुले बजेट कार्यान्वयनमा प्रतिवद्ध भएर उत्पादनमुखि आयात प्रतिस्थापनमा विनियोजित बजेटलाई सफल बनाउन सुझाव व्यक्त गरे । बजेटमा रोजगारीका अवसरहरू सृजना गरी आर्थिक स्तर सुदृढ बनाउने लक्ष्य लिइएकाले सरकार त्यसमा सफल हुने उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस