भारतमा किन भड्कियो अग्निपथ योजनाको विरोधमा दंगा

एजेन्सी

विहीबार, ०२ असार २०७९, १५ : ०१
भारतमा किन भड्कियो अग्निपथ योजनाको विरोधमा दंगा

भारतको केन्द्र सरकारले सेनामा करारमा युवा भर्ती योजना अग्निपथ ल्याएपछि त्यसको विरोधमा उग्र प्रदर्शन भइरहेको छ । 

बिहारमा प्रदर्शनकारीहरूले छपरा र कैमूरमा यात्रुवाहक ट्रेनमा आगो लगाएका छन् । छपरा जंक्सनमा १२ वटा गाडीमा तोडफोड गरिएको छ । नवादामा भारतीय जनता पार्टीको कार्यालयमा आगजनी पनि गरिएको छ ।आक्रोशित युवाहरू केन्द्र सरकारविरुद्ध नारा लगाइरहेका छन् । प्रदर्शनका कारण रेल यातायात पूरै ठप्प भएको छ । अन्य राज्यमा पनि विभिन्न स्थानमा दंगाहरू भएका छन् । 

अग्निपथ कार्यक्रमअन्तर्गत साढे १७ देखि २१ वर्षसम्मका युवालाई चार वर्षका लागि सेनामा भर्ती गरिनेछ । तर यति छोटो समयका लागि मात्र राख्ने कामले रोजगारी सुरक्षा र निवृत्तिभरण (पेन्सन) मा असर पर्ने विरोधी युवाहरूको भनाइ छ । 

भारतीय सेनाले आवश्यक शारीरिक परीक्षा लिएपछि पनि विगत दुई वर्षमा भर्ती नखुलाएकाले युवाहरू आक्रोशित थिए । अग्निपथ कार्यक्रमअन्तर्गत कामको नयाँ नियमावलि बनाइएको थाहा पाएपछि युवाहरू रिसाएका हुन् । 

राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले रेलवेमा करारमा कर्मचारी राखिए जस्तो गरी सेनामा भर्ती गराउने अग्निपथ योजनाले संविधानद्वारा प्रत्याभूति गरिएको आरक्षण प्रणालीलाई अन्त्य गर्ने बताएका छन् । 

भाजपा सरकारले चार वर्ष युवालाई सेनामा राखेर त्यसपछि धनी पूँजीपतिहरूको घरमा चौकीदार बनाउन खोजेको आरोप पनि तेजस्वीले लगाए ।

प्रतिक्रिया दिनुहोस