जिदान पीएसजीको प्रशिक्षक बन्न सहमत

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, १५ : १८
जिदान पीएसजीको प्रशिक्षक बन्न सहमत

काठमाडौं ।  खेल सम्बन्धी स्पेनिस सञ्चार माध्यममा आएका समाचार अनुसार जिनेदिन जिदान फ्रेञ्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजीको प्रशिक्षक बन्न सहमत भएका छन् ।स्पेनिस क्लव रियल मड्रिका पूर्व प्रशिक्षक जिदान ३ वर्षका लागि पीएसजीको प्रशिक्षक बन्न सहमत भएको खबर स्पेनिस अनलाइन मुण्डो डिप्रोटिभोले प्रकाशन गरेको छ ।

उसका अनुसार पीएसजीका कतारी मालिक तमिम बिन हमाद अल थानीसँग भेटेर जिदानले प्रशिक्षक बन्न सहमति जनाएका हुन् । तर यो महिनाभर अर्थात जुनभर सम्झौतामा हस्ताक्षर नहुने र यसको औपचारिक घोषणा पनि नगरिने मुण्डो डिप्रोटिभोमा उल्लेख छ ।

दोश्रो पटक रियल मड्रिडको प्रशिक्षक बनेका जिदानले पछिल्लो सिजनमा कुनै उपाधि जिताउन नसकेपछि दुई हप्ताअघि क्लब छाडेका थिए ।  यद्यपी उनको सम्झौता भने अझै ३ वर्षका लागि बाँकी थियो ।

उनले रियललाई दिएको त्यही बाँकी ३ वर्षको समय पीएसजीलाई दिन लागेका मुण्डो डिप्रोटिभोको दाबी छ । तर यो समाचार अन्य कुनै पनि सञ्चार माध्यमले पुष्टि गर्न सकेका छैनन् ।

पीएसजीले माउरिसिओ पोचिट्टिनोलाई हटाएर जिदानलाई प्रशिक्षक बनाउने हल्ला चलिरहेका बेला फ्रेञ्च राष्ट्रपति इमानुयल माक्रोनले जिदानलाई फ्रान्समा फर्कन र लिग वान् क्लबको प्रशिक्षक बन्न आग्रह गरेका थिए ।

रियल मड्रिडका लागि ३ पटक च्याम्पियन्स लिग जिताएका जिदानले फेञ्च क्लबलाई पनि त्यस्तै सफलता दिलाउन् भन्ने आफ्नो चाहना रहेको माक्रोनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस