सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

पत्रपत्रिकाबाट

शुक्रबार, २७ जेठ २०७९, ०७ : २६
सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

एजेन्सी । भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई जिउँदै जलाइएको छ। घटना भएको थाहा पाएपछि भीडले मोटरसाइकलसहित  ती युवाहरूलाई जिउँदै जलाएका हुन्। जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्। घटना जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटर टाढा सदर प्रहरी चौकी क्षेत्रको बसुहा पञ्चायतको एउटा गाउँको हो।

मृत्यु हुनेमा सुनिल उराँव छन्। आशिष उराँवको अवस्था भने गम्भीर रहेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ। घटनापछि सो क्षेत्रमा तनाव बढेको छ। गाउँमा प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको भाचरतीय सन्चार माध्यमहरुले जनाएका छन्। प्रहरीले बिहीबार बिहान पनि धेरैलाई सोधपुछ गरेको थियो।

स्थानीयवासीका अनुसार नाबालिका आमा बुवासँग लोहरदगाको भण्डारामा गएकी थिइन्। फर्कनका लागि आमाबुवा छोरीसँगै बस स्ट्यान्डमा उभिरहेका थिए। यसै क्रममा छिमेकी गाउँका साथीसहित ती युवा मोटरसाइकल लिएर आए। बाटोमा उभिनुको कारण परिवारलाई सोधे भने बालिकाका बुवाले बस कुरिरहेको बताए।  

बालिकाका आमाबुबाले घर छिट्टै पुग्नु छ भनेपछि दुवै युवाले नाबालिग बालिकालाई मोटरसाइकलमा लिएर हिँडे। आमाबुवा साँझ अबेर घर पुग्दा पनि बालिका घरमा थिइनन्, त्यसपछि परिवारका सदस्यले बालिका खोज्न निस्किए। सो लगत्तै छिमेकी गाउँमा गम्भीर अवस्थामा बालिका फेला परिन्।

बालिकाले आफूलाई दुबै युवकले बलात्कार गरेको परिवारका सदस्यहरुलाई बताइन्। त्यसपछि परिवारका सदस्य दुवै युवकलाई खोज्न निस्किए। छिमेकी गाउँमा दुवै युवकलाई मोटरसाइकलसहित फेला पारे। त्यसपछि गाउँका महिला र पुरुष दुवै युवकलाई सोधपुछ गर्न पीडित बालिकाको गाउँ पुगे। बालिकाले युवकहरुसामु पूरा घटनाक्रम सुनाइन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस