चितवनमा आठ करोड लगानीमा नेपालकै ठूलो र सुविधासम्पन्न ट्रायल सेन्टर सञ्चालनमा (भिडियोसहित )

सुमनराज श्रेष्ठ

मंगलबार, २४ जेठ २०७९, १३ : १६
चितवनमा आठ करोड लगानीमा नेपालकै ठूलो र सुविधासम्पन्न ट्रायल सेन्टर सञ्चालनमा (भिडियोसहित )

चितवन । चितवनमा ८ करोड रुपैयाँको लगानीमा सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका -८ मा १५ जना युवा उद्यमीको संयुक्त लगानीमा २ बीघा ३ कट्ठा क्षेत्रफलमा महालक्ष्मी ट्रायल सेन्टर  प्रशिक्षण केन्द्र सञ्चालनमा आउने भएको हो ।

चितवनमा आगामी आर्थिक वर्ष २०७९र०८० देखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया शुरु भएसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । ट्रायल सेन्टरको पूर्वाधार र आवश्यक संरचनाको कार्य सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष डम्बर बहादुर थापाले जानकारी दिए । 

उनका अनुसार ट्रायल सेन्टर वैशाखको पहिलो सातादेखि सञ्चालनमा आउने छ । २४ सै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने उनको भनाइ छ । 
प्रशिक्षण केन्द्रमा दुईचक्के  सवारीदेखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाइएको छ । ‘हामीले २४ सै घण्टा प्रशिक्षण दिने उद्धेश्यसहितको पूर्वाधार र जनशक्ति तयार पारेका छौं’, उनले भने, ‘एकैदिनमा ३ हजार जनालाई सेवा दिने क्षमता यो केन्द्रमा रहेको छ ।’ 

यातायात व्यवस्था विभागको निर्देशिका २०७४ बमोजिम नेपालकै सम्भवत स् सुविधा सम्पन्न तथा ठूलो प्रशिक्षण केन्द्र रहेको अर्का लगानीकर्ता तथा आर्किटेक्ट ईञ्जिनीयर सुजन नेपालले जानकारी दिए ।

उनका अनुसार सरकारले प्रशिक्षण केन्द्रलाई छनौट गरेको खण्डमा दैनिक १ हजारसम्मले प्रयोगात्मक परीक्षा दिन सक्नेछन् । प्रशिक्षण केन्द्रमा प्रशिक्षार्थीको लागि सवारी पार्किङ्ग, खानेपानी, शौचालय, अपांगमैत्री भवन, चमेना गृह र टाढाबाट आउने प्रशिक्षार्थीको लागि आवाससहितको सुविधा रहेको छ । 

हाल प्रशिक्षण केन्द्रमा १५ ओटा कार, ५० ओटा मोटरसाइकल, २५ ओटा स्कुटर रहेका छन् र अन्य हेभी सवारी साधन आवश्यकता अनुसार उपलब्ध गराइने नेपालले जानकारी दिए । दक्ष प्रशिक्षक तथा जनशक्ति गरी १०० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । 

योसँगै सरकारी मापदण्ड अनुसार चितवनमा सञ्चालनमा आउन लागेका अन्य ६ ओटा सवारी चालक प्रशिक्षण केन्द्र पनि रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस