सम्पर्कविहीन विमान खोजी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १३ : ४७
सम्पर्कविहीन विमान खोजी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ  । गृहमन्त्री बालकृष्ण खाँणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा 'ईको ट्यांगो कल साइन' भएको जहाज खोजी कार्यमा तीव्रता दिन सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन प्रमुखहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी उनले दिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाँणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए । जहाजको खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङबाट उडिसकेको उनले जानकारी दिए ।

काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए । सम्पर्कविहीन जहाजमा १६ नेपाली र ६ विदेशी रहेका पोखरा विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस