चितवनका अधिकांश कुष्ठरोगी भरतपुर महानगरभित्रै

सूर्यप्रकाश कँडेल

शुक्रबार, ११ जेठ २०७५, १५ : २५
चितवनका अधिकांश कुष्ठरोगी भरतपुर महानगरभित्रै

चितवन । सचेत मानिसहरुको बसोबास रहेको जिल्लाको रुपमा परिचित चितवनमा कुष्ठरोग निवारण हुन सकेको छैन । जिल्लामा रहेका ६८ जना कुष्ठरोगीमध्ये ३७ जना भरतपुर महानगरभित्रै रहेका छन् । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाले कुष्ठरोग निवारण अभियान अन्तर्गत शुक्रबार भरतपुरमा आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख विजयकुमार झाले पाँच हजार वर्ष पुरानो मानिएको कुष्ठरोग आज पनि जनस्वास्थ्य समस्याको रुपमा रहिरहेको बताउनु भयो । जुनसुकै रोगलाई जति लुकायो त्यो त्यति नै धेरै बढ्ने भएकोले कुष्ठरोग भएमा स्वास्थ्य संस्थामा गएर निःशुल्क औषधि सेवन गर्नुपर्ने उहाँको भनाइ थियो । समयमै उपचार सुरु गरे कुष्ठरोगको कारण अंगभंग हुनुपर्ने अवस्था नआउने उहाँले बताउनु भयो ।
महानगरका जनस्वास्थ्य शाखा प्रमुख जीवनकुमार श्रेष्ठले महानगरमा सबैभन्दा बढी आँपटारीमा आठ जना कुष्ठरोगी रहेको जानकारी दिनुभयो । उहाँले नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरुपमा निको हुने जानकारी दिँदै श्रेष्ठले कुष्ठरोग निवारण अभियान अन्तर्गत जेठ १४ देखि १८ गतेसम्म घरदैलो गरी कुष्ठरोगीको खोजी गरिने बताउनु भयो । कुष्ठरोगीको खोजी कार्यका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुको लागि तालिम दिने काम सम्पन्न भइसकेको उहाँले जानकारी गराउनु भयो ।
कार्यक्रममा स्वाग मन्तव्य व्यक्त गर्दै महानगरको जनस्वास्थ्य शाखामा कार्यरत परिवार नियोजन अधिकृत सीता दाहालले कुष्ठरोगले छाला र स्नायुमा असर गर्ने बताउनु भयो । सन् १८७३ मा नर्वेका वैज्ञानिक डा. जीएन ह्यान्सनले किटाणुको कारण कुष्ठरोग हुन्छ भन्ने पत्ता लगाएका थिए । त्यसअघि कुष्ठरोगलाई वंशाणुगत रोग वा दैवी अभिसापको रुपमा लिइन्थ्यो, जुन सर्वथा गलत बुझाई हो ।

प्रतिक्रिया दिनुहोस