बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्छ : सञ्चारमन्त्री कार्की

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १७ : १५
बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन् । बुधवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार बृद्धि भएको पनि स्पष्ट पारे । मन्त्री कार्कीले नेपालमा उर्जाको उत्पादन बढिरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताए ।

उनले आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

मन्त्री कार्कीले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि केवल हाम्रो कारणले मात्र होइन । यसको अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार यसको मूल्यमा वृद्धि हुने कुरा थाहा छँदैछ । हामी जलश्रोतको दोस्रो धनी देश हौँ, र अहिले जुन किसिमले उर्जाको उत्पादन भइरहेको छ यसलाई सदुपयोग गरेर हामीले चाँडै नै बिजुलीबाट चल्ने गाडीहरु र हाम्रो भान्सामा पनि बिजुलीलाई प्राथमिकता दिएर अघि बढ्ने सरकारको नीति छ ।’

उनले थपे, ‘हिजोको नीति कार्यक्रमलाई एकपटक पल्टाएर हेर्ने हो भने पनि त्यहाँ स्पष्ट बोलिएको छ । हामी आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्नेछौँ । त्यस दिशामा सरकारको ध्यान गएको छ । त्यस दिशामा सरकारको कदम अघि बढेको कुरा हो ।’

त्यस्तै मन्त्री कार्कीले नागरिकता विधेयक देशको आवश्यक्ताभित्र पर्ने बताए । उनले नागरिकता समस्या देशमा नराख्ने सरकारको स्पष्ट धारणा भएको भन्दै मंगलवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सबैको सहमतिमा विधेयक चाँडै पारित गर्ने सोच सरकारले राखेको बताए ।

मन्त्री कार्कीले भने, ‘नागरिकता विधेयक अहिले मुलुकको आवश्यक्ताभित्र पर्दछ । नागरिकता समस्या हाम्रो देशमा नरहोस् भन्ने सरकारको स्पष्ट धारणा हो । हिजो नीति कार्यक्रममा पनि सबैको सहमतिमा नागरिक विधेयकलाई चाँडै पारित गर्ने दिशामा सरकारको सोच छ ।’

उनले थप भने, ‘नागरिक विधेयक नआउँदा नागरिकताको समस्याबाट हाम्रो समाज कुन किसिमको समस्यामा गुज्रिरहेको छ, त्यसको अनुभुति मलाई पनि छ । नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर यो समस्याबाट देशलाई हामीले मुक्त गराउन जरुरी छ ।’

मन्त्री कार्कीले नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर नागरिकताको समस्याबाट देशलाई मुक्त गराउन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस