स्थानीय सरकारले संघीयता सुदृढीकरणमा सहयाेग गरेनन् : पृथ्वीसुब्बा गुरुङ

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १७ : ००
स्थानीय सरकारले संघीयता सुदृढीकरणमा सहयाेग गरेनन् : पृथ्वीसुब्बा गुरुङ

पाेखरा । गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धनबाट देशले निकास नपाउने बताएका छन् । संसदमा सम्बोधन गर्दै उनले गठबन्धन स्वार्थबाट प्रेरित भएको भन्दै त्यसको मार देशमा परेको बताए ।

‘अहिले सत्ता गठबन्धन भयो । परमादेशी र जनादेशीबीच लडाइँ जारी छ । आफ्नो सजिलोका लागि सिद्धान्तको गलत ब्याख्या गरेर संघीयता सुदृढ हुँदैन,’ उनले भने, ‘तत्काल सत्ता प्राप्त गर्नु लोकतन्त्र होइन । सत्ता प्राप्तिको आफ्नो प्रचलन छ । सत्ता गठबन्धन मुलुकको विकासका लागि थिएन । त्यो केका लागि थियो भन्ने अहिले स्पष्ट भैसकेको छ ।’

नयाँ सरकार गठनको एक वर्ष पुगिसक्दा पनि प्रभावकारी काम देखाउन नसकेको भन्दै उनले यो सरकारबाट कुनै सकारात्मक बाटो नदेखिएको बताए । ‘क्यान्सरको उपचार सिटामोलले हुने भए क्यान्सको औषधि किन चाहिन्थ्यो र किन दुख गर्नुपर्थ्याे ? हामी भ्रममा छौं,’ उनी भन्छन्, ‘हिजो प्रतिनिधिसभा विघटन सही थियो । अग्रगामी शक्तिले गर्ने चुनाव कहिलै प्रतिगामी हुन सक्दैन ।’

गुरुङले स्थानीय निर्वाचन पहिले भन्दा सुधारिएको भन्दै आयोगलाई धन्यवाद दिए । ‘चुनावमा धेरैको ज्यान जान्थ्यो । अहिले पनि सत्ताको उन्माद नदेखिएको होइन । तर यसपटक अलि परिपक्व भएछन् राजनीतिक दलहरु,’ अघि भन्छन्, ‘यसपालि मारकाट कम भए । चुनाव प्रचार अलि भलाद्मी भयो । त्यो पनि हामीले अभ्यासबाट सिकेको सिकाई होला । यो चुनाव समग्रमा सफल भएको छ ।’

उनले स्थानीय शासन प्रणालीले संघीय शासन प्रणालीको सुदृढीकरणका लागि खासै भूमिका नखेलेको गुनासो गरे । ‘प्रदेश सरकारको तर्फबाट योजना निर्माण र कानून निर्माण गर्ने कुरामा उनीहरूसँग समन्वय गर्न खोजेको हो । तर उनीहरूले प्रदेश सरकारले आफ्नो अधिकारमाथी धावा बोलेको ढंगले बुझे,’ गुरुङ भन्छन्, ‘जहाँजहाँ विद्यमान जनप्रतिनिधिहरु पुनः दोहोर्‍याएका छौं, धेरैले चुनाव हारेका छन् । यसबाट सिक्नुपर्छ, जो जनप्रतिनिधि भएर काम गरेका थिए, तिमध्ये शासक भएर काम गर्नेहरू पराजित भए । सेवक भएर काम गर्नेहरू पुनः निर्वाचित भए । हामी समन्वयमा काम गर्नुपर्छ ।’

गण्डकी प्रदेशका २१ जना पालिका प्रमुखहरु दोहोर्‍याएर चुनाव लड्दा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस