भरतपुरमा बेरोजगारी अन्त्य गर्छुः रेनु दाहाल

सफल खबर संवाददाता

मंगलबार, १० जेठ २०७९, १६ : ३८
भरतपुरमा बेरोजगारी अन्त्य गर्छुः रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गरेकी छन्।

भरतपुर महानगरपालिकाको मेयरमा जित निकालेसँगै मेयर दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले अब शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिएकी हुन्।उनले अबको पाँच वर्षमा भरतपुर महानगरपालिकामा बेरोजगारी अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको विकास गरेर रोजगारी प्रवर्द्धन गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेको बताइन्।

मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माणलाई अघि बढाउने पनि उद्घोष गरिन्।उनले भरतपुर महानगरपालिकालाई देशकै हेर्न र गर्व गर्नलायक नमूना स्मार्ट सिटिको संकल्प पूरा गर्ने, गौरवका आयोजनाहरु जस्तैः सिटी हल, प्रशासनिक भवन, ५ अर्ब बराबरको नारायणी तटबन्ध, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरीय रिङ रोडको योजनालाई सम्पन्न गर्ने कुरा पहिलो प्राथमिकतामा राख्ने बताइन्।

मेयर दाहालले गत कार्यकालमा बाँकी रहेका कामहरुलाई यो कार्यकालमा पूरा गर्ने लक्ष्य राखेको पनि बताइन्। उनले भरतपुरका बाँकी काम पूरा गरेर जनतालाई निरासा हुन नदिने बताइन्।

उनले भनिन्, ‘दोस्रो कार्यकालको लागि पनि विगतका अधुरा कामहरु र जनताले अपेक्षा गरेअनुरुप सकेको मैले कोशिस गर्नेछु। जनउत्तरदायी भएर, जनताको भावना बुझेर महानगरपालिकाका विकासका कामहरुलाई ध्यानमा राखेर सकेसम्म भरतपुर देशकै एउटा नमूना सहर बनाउने संकल्प विगतदेखि थियो। त्यसलाई पूरा गर्नको लागि म प्रतिवद्ध भएर जनताप्रति थप उत्तरदायी भएर काम गर्ने पहिलो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’

मेयर दाहालले सोचेको भन्दा राम्रो मत परिणाम आएकोले जनताको चाहनाअनुसार जनताकै लागि काम गर्ने प्रतिवद्धतासमेत जनाइन्। उनले ३ हजारदेखि ७ हजारसम्मको मतान्तरले आफू विजयी हुने आश रहेपनि त्यो भन्दा बढी मतान्तरले विजयी हुनु अघिल्लो कार्यकालमा गरेको उपलब्धिको परिणाम भएको बताइन्।

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिकालाई विशेष चासो र महत्वका साथ हेरिएको थियो। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की नेत्री दाहालले उम्मेदवारी दिएकी थिइन् भने नेकपा एमालेबाट विजय सुवेदीले उम्मेदवारी दिएका थिए।

त्यस्तै नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। निर्वाचनको मत परिणाम अनुसार दाहालले ५२ हजार ३० मत पाइन भने प्रतिस्पर्धि सुवेदीले ३९ हजार ५८१ मत पाए।

दुई जनाबीचको मतान्तर १२ हजार ४४९ रहेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे। उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भए।

प्रतिक्रिया दिनुहोस