फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्यः पेट्रोल प्रतिलिटर १८० रुपैयाँ, ग्याँस १६ सयबाट १८ सय

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, ०७ : ३८
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्यः पेट्रोल प्रतिलिटर १८० रुपैयाँ, ग्याँस १६ सयबाट १८ सय

काठमाडौं । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले एक साताकै अवधिमा दोस्रो पटक मूल्यवृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धिले निगम घाटामा जाँदा इन्धन खरिदको रकम भुक्तानी गर्न नसके पछि मूल्यवृद्धि गरेको हो । निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर दुई सय रुपैयाँ बढाएको छ। त्यसैगरी, पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन (आन्तरिकतर्फ)  लिटरमा १० रुपैयाँ बढाएको छ ।

ग्यासको मूल्य सिलिन्डरमा १६ सय रुपैयाँबाट बढाएर १८ सय रुपैयाँ पुर्‍याएको छ। निगमले ग्यासमा प्रति सिलिन्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा व्यहोर्दै आएको थियो। निगमको ग्यासमा लागत प्रति सिलिन्डर २६ सय ५० रुपैयाँ १८ पैसा छ।

त्यसैगरी, पेट्रोलको मूल्य लिटरको १ सय ८०, डिजेलको मूल्य १ सय ६३ रुपैयाँ र हवाई इन्धनको मूल्य लिटरको १ सय ६६ रुपैयाँ पुगेको छ। मूल्यवृद्धि गर्दा पनि निगमको घाटा ३ अर्ब ३५ करोड रुपैयाँ रहेको आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

प्रतिक्रिया दिनुहोस