एमालेसँग तालमेल गरे पनि गोविन्दराजले सकेनन् छोरा जिताउन

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, ०७ : १३
एमालेसँग तालमेल गरे पनि गोविन्दराजले सकेनन् छोरा जिताउन

काठमाडौं । कांग्रेसलाई ‘साइज’ मा ल्याउने रणनीतिका साथ छोरालाई मेयर उम्मेदवार बनाएर चुनावी मैदानमा खडा गरेका पूर्वमन्त्री गोविन्दराज जोशी आफ्नो पक्षमा नतिजा ल्याउन असफल बनेका छन् ।

अघिल्लो निर्वाचनमा अन्तरघात गरेको आरोपमा पार्टीबाट निष्काशनमा परेका उनले यो स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा दीपकराज जोशीलाई मेयरको रुपमा अघि सारेका थिए । 

स्वतन्त्र उम्मेदवारी दिएका जोशी काँग्रेसका उम्मेदवारसँग पराजित भएका छन् । व्यासको मेयरमा काँग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका हुन् । पराजित स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत  सो नगरपालिकाको उपप्रमुख पदमा  काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन् । 

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ । व्यासमा गोविन्दराज जोशी समूह र एमालेबीच तालमेल भएको थियो । तालमेलका बीच पनि कुनैबेला काँग्रेसका प्रभावशाली जोशी चुनावमा असफल बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस