पर्यटनको सुनौलो त्रिकोण

धार्मिक पर्यटक तान्दै तीन जिल्लाका तीन धाम

सूर्यप्रकाश कँडेल

विहीबार, १० जेठ २०७५, १६ : ५१
धार्मिक पर्यटक तान्दै तीन जिल्लाका तीन धाम

चितवन । तनहुँको देवधाटधाम, चितवनको धर्मधाम र नवलपुरको शाश्वतधाम धार्मिक पर्यटनको सुनौलो त्रिकोण बनेका छन् । यी तीन वटै धामले धार्मिक पर्यटक आकर्षित गरिरहेका छन् ।
नेपालको प्रमुख तीर्थस्थल पशुपतिनाथ मन्दिरको झल्को दिने गरी निर्माण भएको शिव मन्दिरमा चार वटा ढोका रहेका छन् । मल्लकालीन मन्दिरजस्तो बनाउन सालको काठमा कलात्मक बुट्टा कुँदेर निर्माण गरिएका ढोका र टुँडाल निर्माणमा मात्रै तीन करोड रुपैयाँभन्दा बढी खर्च लागेको छ । ‘सालको दुई हजार आठ सय क्युबिक फिट काठ प्रयोग गरेका छौँ’ स्वामी आत्मानन्द गिरिले भन्नुभयो, ‘काष्ठकला निर्माण र फिटिङको लागिमात्रै एक करोड ५० लाख रुपैयाँ खर्चेका छौँ ।’
काष्ठकलाका लागि काठमाडौँ, भक्तपुर र ललितपुरबाट आएका कलाकारले काम गरेको उहाँले जानकारी दिनुभयो । ‘देवघाटमा साना मन्दिर सयौँको संख्यामा छन्, तर साना मन्दिरमा भक्तजनको आँखा नपर्ने भएकोले भव्य मन्दिर निर्माण गरिएको हो’ स्वामी आत्मानन्दले भन्नुभयो, ‘मन्दिर सम्पन्न गर्न नौ करोड रुपैयाँ खर्च भएको छ ।’


देवघाटधाममा निर्माण भइरहेको विशाल शिव मन्दिर देशकै गौरवको रुपमा हजारौँ वर्षसम्म रहने स्वामी आत्मानन्दले बताउनु भयो । उहाँका अनुसार, मन्दिरको मुख्य भागमा नमर्देश्वर भगवान शिवको मूल मूर्ती रहेका छन् । मन्दिरका चार वटा भित्तामा विष्णु, दुर्गा, गणेश र सूर्यको मूर्ती रहेको छ । ‘शिव पाञ्चायन विधिले प्राण प्रतिष्ठा भएको छ’ उहाँले भन्नुभयो, ‘मन्दिर परिसरमा एक सय आठ शिवलिङ्ग प्रतिष्ठा गरेका छौँ ।’
निर्माण सम्पन्न भएको मन्दिर नौ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोधी भएको उहाँले जानकारी दिनुभयो । ‘मन्दिर निर्माणमा सरकारी रकमको प्रयोग भएको छैन, भक्तहरुकै सहयोगबाट निर्माण गरिएको हो’ स्वामी आत्मानन्दले भन्नुभयो, ‘मन्दिर निर्माणमा प्राविधिक कारणले केही विलम्ब भयो होला, तर आर्थिक कारणले विलम्ब भएको छैन ।’
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले देवघाटधाममा पशुपतिनाथकै शैलीमा शिव मन्दिर निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटक आगमन बढेको बताउनु भयो । उहाँले शिव मन्दिर देवघाटधामको मात्र नभई देशकै आकर्षक पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।
देवघाटमा हरेक वर्ष साउनमा श्रावणी मेला भर्न आउने र माघ महिनामा मकर संक्रान्ति स्नान गर्न आउने भक्तजनको घुइँचो लाग्छ । वर्षभरमा सात लाखजति भक्तजन देवघाट आउने गरेको समितिको अनुमान छ । समितिका अनुसार देवघाटमा यस वर्ष माघे संक्रान्ति मेलामा चार लाखको हाराहारीमा भक्तजन आएका थिए ।

जिरौनामा धर्मधाम


रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौनामा रहेको ५० वर्ष पुरानो श्रीकृष्ण प्रणामी मन्दिरलाई स्तरोन्नति गरी पाँच करोड खर्चेर धार्मिक पर्यटक आकर्षण गर्ने उद्देश्यसहित धर्मधाम बनाइएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति जिरौनाका अध्यक्ष तिलकराज शर्मा पौडेलले पुरानो मन्दिरलाई नयाँ कलात्मक स्वरुप दिन १२ वर्ष लागेको जानकारी दिनुभयो ।
१५ कठ्ठा दुई धुर क्षेत्रफलमा रहेको धर्मधाम परिसरमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीको फोहोरा रहेका छन् । मन्दिरभित्र सिसाबाट निर्मित श्रीकृष्णसँग सम्बन्धित तस्बिरहरु छन् । मन्दिरभित्रको केन्द्र भागमा कलात्मक झुमर झुण्ड्याइएको छ । झुमरको वरपर श्रीकृष्ण र राधासहितका चित्रहरु कुँदिएका छन् । मन्दिरको काठबाट निर्मित ढोका र झ्यालमा बुट्टा कुँदेर तिनलाई कलात्मक बनाइएको छ ।
शिखर शैली र गुम्बज शैलीको समिश्रण गरी बनाइएको मुख्य मन्दिरभित्र राधाकृष्णको मूर्तिसहित परम्परागत झल्को दिने गरी कुँदिएका झ्याल र ढोका, भित्तामा कुँदिएका धार्मिक दृश्यसहितको सुन्दरता रहेको छ । मन्दिर अवलोकन गर्न पुगेका भक्तजनले त्यही सुन्दरतामा रमाउँदै सेल्फी र तस्बिर खिच्ने गरेका छन् । भारतबाट झिकाइएका कालीगढले मन्दिर निर्माण गरी त्यसलाई कलात्मक रुप दिइएको छ ।
पूर्व–पश्चिम राजमार्गको भानुचोकबाट साढे तीन किलोमिटर उत्तरमा पर्ने धर्मधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रयासमा मन्दिर समिति जुटेको छ । ‘चितवन पर्यटकीय भूमि हो’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘धर्मधाम अवलोकनका लागि धार्मिक पर्यटक आउने क्रम बढेको छ ।’
२०२४ सालमा स्थापना भएको मन्दिर जीर्ण बन्दै गएपछि श्रीकृष्ण प्रणामी सेवा समिति जिरौनाले स्थानीयवासी र अन्य चन्दादाताको सहयोगमा रकम खर्चेर अहिलेको भव्य मन्दिर बनाएको हो । धर्मधाम नाम दिइएको यो मन्दिरको समुद्घाटन फागुन आठ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुने कार्यक्रम रहेको छ ।
स्थानीयको मुठ्ठीदान तथा चन्दा सहयोगबाट सञ्चालित मन्दिरले धार्मिक, आध्यात्मिक, शैक्षिक कार्यक्रमसँग पर्यटकीय गतिविधिमा समेत योगदान दिने विश्वास सहसंयोजक श्यामप्रसाद बरालले व्यक्त गर्नुभयो । तेस्रो पर्यटकीय क्षेत्र चितवन आउने पर्यटकलाई जिरौनासम्म ल्याउने वातावरण तयार पार्न सके यसले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बरालले बताउनु भयो ।

शाश्वतधामको एक वर्ष


नवलपुरको दुम्कौलीस्थित शाश्वतधाम व्यवसायी विनोद चौधरीले निजी लगानीमा निर्माण गर्नु भएको हो । यो धाम निर्माणमा कति रकम खर्च भयो भन्ने आधिकारिक जानकारी चौधरी ग्रुपले सार्वजनिक गरेको छैन । उद्घाटनको एक वर्षभित्रै शाश्वतधामभित्र बौद्ध केन्द्र थपिएको छ । धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बौद्ध केन्द्र थप गरिएको हो ।
विश्वमा पर्यटनको सुरुवात धार्मिक पर्यटनबाट भएको मानिन्छ । तीर्थाटनका क्रममा तीर्थालुहरू घुम्दै तीर्थस्थलमा पुग्ने क्रमबाट पर्यटन सुरु भएको विश्वास गरिन्छ । पर्यटन अर्थात् मन बहलाउन विभिन्न ठाउँ घुम्ने काम मान्छेले मात्र होइन, पौराणिक कालमा देवताबाट समेत हुने गरेको किम्वदन्ती पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस