काभ्रेको पाँचखाल नगरपालिकामा गठबन्धनको अग्रता

सफल खबर संवाददाता

आइतबार, ०८ जेठ २०७९, ११ : ३७
काभ्रेको पाँचखाल नगरपालिकामा गठबन्धनको अग्रता

काठमाडौं । जिल्लाको पलाञ्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महेश खरेलले अग्रता लिएका छन्। वडा नं १० सम्म सम्पन्न  मतगणना परिणामअनुसार उनले नौ हजार ९३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कञ्चन अधिकारीले ६ हजार ४७ मत प्राप्त गरेका छन्।त्यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतमले सात हजार १५८ मत प्राप्त गरेका छन् भने एमालेका सूर्यमाया दनुवारले ६ हजार ९५१ मत प्राप्त गरेका छन्।

मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २,३, ४,७ र ८ मा कांग्रेसका क्रमशः रामेश्वर दाहाल, सुन्दर अधिकारी,  सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ , वडा नं ५ मा एमालेका सीताराम ढुङ्गाना, वडा नं ६ मा नेकपा एकीकृत समाजवादीका रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र  नारायणप्रसाद सापकोटा विजयी भएका छन्। १३ वटा वडा रहेको पाँचखालमा तीन वडाको  मतगणना जारी छ।

यसैबीच जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका विजय राना मगर ५४४ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर वाइबाले ५४२ मत प्राप्त गरेका छन्। सो वडामा पुनः दोहोर्‍याएर मतगणना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस