स्थानीय तह निर्वाचन

सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १६ : २८
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी

सर्लाही  । कविलासी नगरपालिकामा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्  । कविलासी नगरपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार ब्रम्हदेव राय निकटतम प्रतिस्पर्धी जनता समाजवादीका राम नरेश रायलाई १७८१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । ब्रम्हदेवले कुल ६४४४ प्राप्त गरे । निकटतम रहेका जसपाका राम नरेशले ४६६३ मत मात्र प्राप्त गरे । 

नगरको उपमेयर पदमा समेत कांग्रेसकी उम्मेदवार पुनम कर्ण विजयी भएकी छन् । कर्णले निकटतम प्रतिस्पर्धी जनता समाजवादीकी उम्मेदवार एवं निवर्तमान उपमेयर राधा देवीलाई १९९१ मत अन्तरले पराजित गरेकी हुन् । कर्णले कुल ६९०७ मत प्राप्त गरिन् । उनकाे निकटतम प्रतिस्पर्धी देवीले ४९१६ मतमात्र पाइन् । 

पालिकाका निवर्तमान मेयर कौशलकिशोर राय ३५१८ मतसहित तेस्रो स्थानमा पुगेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट विजयी भएका यादवले एमालेबाट उम्मेदवारी दिएका थिए । निर्वाचनको मुखमा आएर पार्टी बदलेका उनलाई पनि जनताले नरुचाएका स्थानीयको भनाइ छ ।

कविलासी नगरपालिकाको वडाध्यक्षतर्फ १ नम्बरमा कांग्रेसका दिपलाल राय यादव, २ मा एकीकृत समाजवादीका रामपुकार मण्डल, ३ मा एमालेका रामविश्वास राय, ४ मा जसपाका गिरधारी राय, ५ मा कांग्रेसका सुरेन्द्र राय, ६ मा कांग्रेसका पुरुषोतम राय, ७ मा कांग्रेसका धरवेन्द्र राय यादव, ७ मा कांग्रेसका वीरेन्द्रप्रसाद साह, ९ मा कांग्रेसका रामदिनेश राय र १० मा कांग्रेसका विनोदकुमार महतो विजयी भएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस