उड्डयन प्राधिकरणले उठाउन सकेन करिब पौने २ अर्ब बक्यौता

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १६ : ११
उड्डयन प्राधिकरणले उठाउन सकेन करिब पौने २ अर्ब बक्यौता

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमान स्थलहरूबाट करिब १ अर्ब ७० करोड रूपैयाँ बक्यौता असुली गर्न नसकेको पाइएको छ।संघीय संसद अन्तरराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थलहरूबाटै सो बक्यौता असुली गर्न नसकेको उल्लेख गरिएको हो।

उपसमितिका संयोजक दिव्यमणि राजभण्डारीले विदेशी विमानस्थलहरुबाट पनि बक्यौता रकम असुली गर्न प्राधिकरणले नसकेको जानकारी दिँदै त्यसको मुख्य कारण गैरजिम्मेवारीपन रहेको बताP। उपसमितिको प्रतिवेदनमा नेपाल वायु सेवा निगममा नयाँ नेतृत्व आए पनि त्यसले बोर्ड बैठकसमेत बोलाउन नसकेको भनिएको छ।

उपसमितिका संयोजक राजभण्डारीले भने, ‘झण्डैझण्डै १ अर्ब ७० करोड बक्यौता उठाउन नसकेको देखिन्छ भने अर्कोतिर विदेशी संस्थाहरूसँग पनि पैसा उठाउन नसकेको प्रष्टसँग देखिन्छ। यसमा सम्बन्धित निकायहरूको गैरजिम्मेवारीपन मुख्य कारण देखिन्छ। नेपाल वायु सेवा निगमको हकमा नयाँ नेतृत्व आएपनि महिनौं बैठकसमेत बस्न नसकेको पाइएको छ।’

उपसमितिको प्रतिवेदनमा नागरिक उड्डयनसम्बन्धी समस्या र ती समस्याको समाधानका लागि सरकार र सम्बन्धित निकायलाई समितिले जिम्मेवारीपूर्वक काम गर्न सचेत गराउनुपर्ने सुझाव पनि दिइएको छ।

उपसमितिका संयोजक राजभण्डारीले विमान सेवाको माध्यमबाट मुलुकको पर्यटन क्षेत्रको विकास गर्ने कुनै पनि सोच सम्बन्धित निकायसँग नरहेको बताए। नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगमको पुरानै संरचना र सोहीअनुसारको सोचको कारण यसले प्रगति गर्न नसकेको निष्कर्षसमेत उपसमितिले निकालेको छ।

यसैबीच, समितिको बैठकमा परराष्ट्र नीति अध्ययन उपसमितिको म्याद आगामी असार मसान्तसम्म थप गर्ने प्रस्ताव पनि पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस