नयाँ ड्राइभरले चलाउँदैमा थोत्रो गाडीले गति लिंदैन : विनोद चौधरी

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १७ : ४२
नयाँ ड्राइभरले चलाउँदैमा थोत्रो गाडीले गति लिंदैन : विनोद चौधरी

काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अर्थतन्त्रमा अहिले देखिएको संकट वर्तमान सरकार र अर्थमन्त्रीका कारण नआएको बताएका छन् ।बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिंदै उनले अर्थतन्त्रलाई थोत्रो बनाउने क्रमको सिलसिला लामो समयदेखि चलेको बताए ।

‘ड्राइभर बदलिंदैमा थोत्रो गाडीले तीव्र गति समाउँदैन, अहिलेको अर्थतन्त्रको अवस्था यही हो । वर्तमान अर्थमन्त्री र सरकारलाई दोष छैन, यो सरकारले त एउटा बजेटसम्म पनि पेश गर्न पाएको छैन,’ उनले भने ।

चौधरीले आफूले अर्थतन्त्र सम्हालेको बेला समस्या केही छैन भन्दै कमजोरी लुकाउने र बाहिर आएपछि मात्र समस्या देखाउने प्रवृत्ति खतरनाक भएको बताए । ‘अर्थतन्त्रबारे बजेटको बेला मात्र छलफल हुन्छ, अरु बेला अर्थतन्त्र कता गइरहेको छ भन्नेबारे किन गम्भीरताका साथ छलफल गरिएन ?’ उनले प्रश्न गरे ।

विकास बजेट कार्यान्वयन गर्न नसक्ने प्रशासकीय क्षमता ह्रास भएको विषय १० औं पटक उठाउँदा समेत सम्बोधन नगरिएको भन्दै उनले भने, ‘यसै कारण हो यो साल पनि पुँजीगत खर्च ३१ प्रतिशत मात्र भएको छ ।’

उनले युवामा चरम नैराश्यता देखिएको भन्दै नेपालभित्रै बस्ने वातावरण बनाउन बजेटले भूमिका खेल्नुपर्ने बताए । उनले नेपालभित्र गुणस्तरीय शिक्षामा लगानी गर्दै शिक्षाका नाममा विदेशिने ठूलो रकम स्वदेशमै रोक्न समेत आग्रह गरे ।

विभिन्न प्रकारका रोजगारमूलक कार्यक्रम प्रभावकारी नभएको र ती कार्यक्रमको समीक्षा गर्न समेत चौधरीले अर्थमन्त्रीलाई सुझाव दिएका छन् । भारत र चीनबाट मात्र वार्षिक ५० लाख पर्यटक भित्र्याउने वातावरण बनाउने हो भने रोजगारीको ठूलो समस्या हल हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस