स्थानीय तह निर्वाचन

महोत्तरीको बर्दिबासमा लापरबाही, एउटा बाकसको मत नगन्दै विजेता घोषणा

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १५ : २३
महोत्तरीको बर्दिबासमा लापरबाही, एउटा बाकसको मत नगन्दै विजेता घोषणा

महोत्तरी । बर्दिबासमा मतपेटिका नखोल्दै मतपरिणाम घोषणा गरिएको भेटिएको छ । तीन दिन अगाडि बर्दिबास नगरपालिका-८ को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादी केन्द्रबाट शमशेरसिंह लामा विजयी भएको घोषणा गरेका थिए ।

मतगणनामा धाँधली भएको एमालेले आरोप लगाइरहेका वेला सिल नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएकाे छ । निर्वाचन अधिकृत सापकोटाले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट लामाले आठ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए ।

यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ । `वडा न.८ को मतपेटिका मतदान अधिकृतले दिएको जानकारीअनुसार नै रुजु गरियो र सबै मतपेटिका एकै ठाउँमा राखेका थियौ‌,´ सहायक निर्वाचन अधिकृत सर्मिला तामाङले भनिन् । उनका अनुसार सर्वदलीय बैठक राखेर यसकाे समाधान खोजिने छ ।

फूलमाला र अविरसहित विजय जुलुस मनाइसकेको माओवादी भने निर्वाचन आयोगको त्रुटिलाई स्विकार्ने अवस्थामा छैन । माओवादी केन्द्र प्रदेश कमिटी सदस्य राजन ढुंगनाले भेटिएको मतमेटिकालाई खोलेर पुन: मतगणना गर्नु कुनै अर्थ नरहेको बताए । `निर्वाचन आयोगले माओवादी केन्द्रका शमशेरसिंह विजयी भएको घोषणा गरेसँगै निर्वाचन आयोगले समेत त्यसलाई प्रमाणीकरण गरिसकेको छ अनि मतपेटिका खोलेर मतगणना गर्नुको के नै अर्थ रहयो र ? ´ ढुंगानाले प्रतिप्रश्न गरे ।

निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने मानवीय भूललाई स्वीकार गरेर समाधानको निकास निकाल्नेमा आफू विश्वस्त रहेकाे जनाएकाे छ । बर्दिबास नगरपालिकाकाे अन्तिम मतपरिणाम आउन बाँकी नै छ । वडा नम्बर ९ को मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर ८ विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको छ ।

निर्वाचन आयोगले घोषणा गरेको वडा नम्बर ८ को मतपरिणामअनुसार माओवादी केन्द्रका शमशेरसिंह लामाले ७५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले ७४४ मत प्राप्त गरेका छन् । नखोलिएको मतपेटिकामा अझै ८० देखि ८५ मतपत्र हुनसक्ने आसंका गरिएको छ । एमालेले भने सिल नतोडिएको मतपेटिका भए बाँकी मतगणना गर्नुपर्ने माग अघि सारेकाे छ ।

प्रतिक्रिया दिनुहोस