स्थानीय तह निर्वाचन

...जहाँ एमालेले लालकिल्ला जोगायो

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १२ : ५८
...जहाँ एमालेले लालकिल्ला जोगायो

काठमाडौं । सिक्किम सीमा क्षेत्र जोडिएको पाँचथरको स्थानीय तह हो– याङ्वरक गाउँपालिका ।नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’र नेकपा  (एकीकृत समाजवादी) का प्रदेश सा‌ंसद गणेशकुमार काम्बाङले यो स्थानीय तहमा यस पटक गठबन्धन दलको झण्डा फहराउन चाहेका थिए । जुन  सांसद काम्बाङको गृहपालिका पनि हो । 

तर, गठबन्धन दलका यी नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचित गराउन सकेनन् । महागठबन्धनविरुद्ध एक्लै लडेर एमालेले लालकिल्ला जोगायो । वडा नम्बर, १, २, ३ र ४ सम्मको मतगणना हुँदासम्म भने गठबन्धन दलका अध्यक्ष पदका उम्मेदवार मबिन्द्र योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार अर्जुन बेघाको अग्रता थियो । 

यद्यपि, सांसद काम्बाङको वडासमेत रहेको वडा नम्बर ५ मा आइपुग्दा भने एमालेबाट अध्यक्ष पदका उम्मेवदार भीमबहादुर योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार बाबा मेन्याङ्बोले अग्रता मात्र तोडेनन्, अन्ततः निर्वाचन नै जिते । 

निर्वाचन अधिकृतको कार्यालय याङ्वरकले जनाएअनुसार भीमले अध्यक्ष पदमा चार हजार ११८ र मेन्याङ्बोले उपाध्यक्ष पदमा तीन जहरा ९९८ मत प्राप्त गरे । गठबन्धनबाट अध्यक्षमा पराजित मबिन्द्रले चार हजार ३८ र उपाध्यक्षमा पराजित बेघाले तीन हजार ६७९ मत प्राप्त गरेका थिए । 

२०७४ मा यही गाउँपालिकामा एक्लाएक्लै निर्वाचनमा जाँदा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला तेस्रो स्थानमा धेरै मतान्तरले माओवादी थियो । तर, निर्वाचनअघि सोझो रूपमा हेर्दा भने पहिले कांग्रेसले पाएको र माओवादीले पाएको मतले गठबन्धन उम्मेदवारहरूले निर्वाचन जित्‍ने आँकलन थियो । निर्वाचनको परिणाम भने त्यस्तो आएन। 

गठबन्धन दलका एक नेताका अनुसार मबिन्द्रलाई आफ्नै वडाबाट कम मत आयो । जबकि, भीमले त्यहाँ ‘लिड’ गरिदिए । यहाँ मबिन्द्रलाई कांग्रेसकै धेरै मतदाताले मत नदिएको गठबन्धन दलहरूबीच चर्चा छ । 

र, पराजित हुनुको अर्को कारण भने तुलनात्मक रूपमा एमालेका भीमभन्दा मबिन्द्र कमजोर उम्मेदवार हुन् । हुन त उनी यसअघि सोही वडाको अध्यक्ष थिए ।  यससँगै पार्टी सङ्‍गठन सुधार गर्न भन्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मौसमले वार्षिक करोडौँ बजेट यही पालिकामा पठाउँदै आएका छन् ।

निर्वाचनको परिणामले भने बजेट पठाए पनि पार्टीका स्थानीय नेता कार्यकर्ताले सङ्‍गठन बनाउन नसकेको तथ्य छर्लङ्‍ग पारेको माओवादीकै एक नेताले बताउँछन् । ‘मन्त्रीले बजेट ओहिर्‍याएकै हुन् । तर, साथीहरूले योजना लगेर खै सङ्‍गठन बनाउन सकेनछन् । जुन कुरा यो निर्वाचनले छर्लङ्‍ग पार्‍यो’, ती माओवादी नेताले भने ।

याङ्वरकमा एमालेसँगको हारले कांग्रेस समहामन्त्री आङ्देम्बे, मन्त्री मौसमसँँगै सांसद काम्बाङको गठबन्धनको झण्डा फहराउने चाहना अधुरै भएको छ । जबकि, जिल्लाको फिदिम नगरपालिकासहित ७ स्थानीय तहमध्ये हिलिहाङ गाउँपालिकाको उपाध्यक्षबोहकमा गठबन्धनले पालिका नेतृत्वमा एमालेलाई ‘क्लिन स्विप’ गरिदिएको छ ।