पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह

सूर्यप्रकाश कँडेल

बुधबार, ०९ जेठ २०७५, १८ : ११
पार्टी एकताबाट खुसी हुनुहुन्छ अध्यक्ष प्रचण्डका निर्देशक खम्बासिंह

चितवन । उमेरको सन्दर्भमा ‘नब्बे, हब्बे न कब्बे’ भन्ने गरिन्छ, तर पुराना वामपन्थी नेता ९२ वर्षीय खम्बासिंह कुँवरलाई भेटेपछि यो भनाइ मिथ्या साबित हुन्छ । भरतपुर महानगरपालिका वडा नम्बर दसमा रहेको खम्बासिंह बस्दै आउनु भएको कोठामा पुग्दा बुधबार दिउँसो उहाँ नेपाल टेलिभिजनबाट प्रसारित संघीय संसदको प्रत्यक्ष प्रसारण हेरिरहनु भएको थियो । नेपाली राजनीतिबारे अहिले पनि टाठो बहस गर्नुहुने कुँवरलाई भेट्दा उहाँलाई मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या छन् भन्ने पत्याउनै कठिन हुन्छ ।
तत्कालीन नेकपा माओवादी, बीचमा एकीकृत नेकपा माओवादी र पछिल्लो समयमा नेकपा माओवादी केन्द्रहुँदै एक सातायता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली राजनीतिको नायक मान्ने हो भने प्रचण्डका निर्देशक हुनुहुन्छ खम्बासिंह कुँवर अडिग । ‘एमालेसँग जसरी पनि एकता गर्नुपर्छ भनेर मैले प्रचण्डजीलाई सल्लाह दिएको थिएँ’ पार्टी एकताप्रति खुसी प्रकट गर्दै कुँवरले भन्नुभयो, ‘वाम एकता हुनु अति आवश्यक थियो । यो एकता नेपालको लागिमात्र नभएर विश्वकै लागि राम्रो काम भयो ।’ नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले निजी स्वार्थ होइन, जनता र देशको हितमा काम ग¥यो भने अन्य सानातिना सबै कम्युनिष्ट पार्टी एकतामा आउने उहाँ बताउनु हुन्छ ।


कम्युनिष्ट सरकारले निःशुल्क शिक्षा, स्वास्थ्य, बाटोघाटो, कलकारखाना, खानी अनुसन्धान र उत्खनन्, सुकुम्बासी समस्या समाधान लगायतका काम गर्नुपर्ने उहाँको सुझाव छ । ‘समय जसरी परिवर्तन भइरहेछ, तयसरी नै जनताको सोचाईमा पनि परिवर्तन भइरहेको छ’ उहाँ भन्नुहुन्छ, ‘पार्टी र सरकार जनताको हकहितका पक्षमा अगाडि बढ्नु पर्छ । पाँच वर्षभित्र सरकारले जनताको इच्छा, आकांक्षा सम्बोधन गर्नुपर्छ । नत्र सबै ध्वस्त हुन्छ । पार्टी र सरकारले राम्रो काम गर्दै गए भने साना वामपन्थी पार्टी र जनतालाई प्रभाव पर्नेछ ।’ माक्र्सवाद भनेको व्यावहारिक ज्ञान भएको बताउँदै अग्रज कम्युनिष्ट नेता कुँवर भन्नुहुन्छ, ‘विगतमा कम्युनिष्ट पार्टीहरुले जुट्नभन्दा फुट्नमा बढी जोड दिए । अब जनताको हकहितको पक्षमा काम गर्दै गयो भने साना पार्टीहरु पनि ठूलो पार्टीसँग एकतामा आउनु पर्छ ।’
आमा पुतली कुँवर र बुबा ललितजंग कुँवरका एक्लो जीवित सन्तान खम्बासिंहले डेढ वर्षकै उमेरमा बुबाको माया सदाको लागि गुमाउनु प¥यो । आमासँग मिलेर सानोमा उहाँलाई हुर्काउने दिदी डम्बरकुमारी पनि बितिसक्नु भएको छ । त्यसअघि नै खम्बासिंहका सात जना दाजु र तीन जना दिदीले यो संसार छाडिसकेका थिए । १९८४ साल बैशाख १० गते लमजुङ जिल्लाको बाङ्ग्रे गाउँमा जन्मनु भएका खम्बासिंहले २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । पुराना कम्युनिष्ट नेता खम्बासिंहलाई २०६८ साल असोज २८ गते चितवनको भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको विभूषण समितिले खम्बासिंहलाई सुप्रबल जनसेवाश्री विभूषणबाट सम्मानित गरिसकेको छ । यसबाहेक विभिन्न समयमा विभिन्न संघसंस्थाले उहाँको अभिनन्दन र सम्मान गरेका छन् ।


बाल्यकालमा गाउँमा विद्यालय नभएको कारण खम्बासिंहले पण्डित लोकनाथ भण्डारीबाट अक्षर चिनेर चण्डी, दुर्गाकवच लगायतका पुस्तक पढ्नुभयो । २००० सालमा लमजुङकी धीरा थापासँग लगनगाँठो कस्नु भएका खम्बासिंहले गतवर्ष असार १० गते श्रीमतीलाई सदाको लागि बिदा गर्नुप¥यो । बिहेपछि २००६ सालमा भारतको गोरखपुरमा गई भारतीय सेनामा भर्ती हुनु भएका कुँवरले चार वर्ष सैनिक जीवन व्यतित गरेपछि २०१० सालमा घर फर्कनु भयो । २०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर कम्युनिष्ट आन्दोलनमा सक्रिय बन्नु भएका कुँवर २०१४ सालमा पुनः गोरखपुर पुगेर होटल व्यवसायमा लाग्नुभयो । व्यवसायमा सफलता पाउन नसकेपछि २०१५ सालमा चितवन झर्नु भएका कुँवर त्यसपछि पार्टीकै काममा व्यस्त रहनु भयो ।
२०१८ सालमा नेपाली काँग्रेसले आन्दोलनकै क्रममा चितवन कब्जा गर्ने घोषणा गरेपछि केही काँग्रेसी नेतासँगै कुँवर पनि पक्राउ पर्नुभयो । खम्बासिंह पक्राउ परेको खबर उहाँका भतिजा नेपाली सेनाका सुबेदार चन्द्रसिंह कुँवरले थाहा पाउनु भयो । सुबेदार चन्द्रसिंहले त्यतिबेला ‘उहाँ मेरो काका हुनुहुन्छ, काँग्रेस होइन’ भनेर खम्बासिंहलाई जोगाउनु भएको रहेछ । सेनाको गिरफ्तारी र त्यसबाट पाएको छुट्काराले खम्बासिंहलाई विचलित बनाएन । उहाँ पार्टीको काममा खट्न छाड्नु भएन । २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशन भारतको बनारसमा भएको थियो । चौथो महाधिवेशनमा चितवनबाट चार जना नेता सहभागी भएका थिए । ती चार जनामा नरबहादुर खाँड, विष्णु घिमिरे, इन्द्रविलास पौडेल र खम्बासिंह कुँवर थिए । चौथो महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बन्नु भएका कुँवर त्यही वर्ष पोलिटब्युरो सदस्य हुनुभयो ।


२०४८ सालमा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहनु भएका खम्बासिंह जनयुद्धकालमा भूमिगत हुनुभयो । ‘नेकपा माओवादीले प्रचण्डपथ पारित गरेर जनयुद्धमा जाने निर्णय ग¥यो’ २०५२ सालको स्मरण गर्दै कुँवरले भन्नुभयो, ‘त्यतिबेला प्रचण्डपथ भन्नुपर्छ भनेर रामबहादुर थापा बादलले प्रस्ताव गर्नु भएको थियो ।’ प्रचण्डपथ प्रस्ताव गर्ने बादल अहिले नेपाल सरकारको गृहमन्त्री हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस