बलेवा । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई ५ हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले ८ हजार ८२१ मत प्राप्त गरे । गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै दुई हजार ३०० मतान्तरले पराजित भएका थिए । दोस्रोपटकको आमने–सामनेमा श्रेष्ठले बाजी मारेका हुन् ।
उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले ८ हजार ६४ मत पाए । बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । वडा नंं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं २ र १० नेकपा (एकीकृत समाजवादी), वडा नंं ४ माओवादी केन्द्रले र वडा नंं १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । वडा नंं ५, ६ र ७ भने एमाले निर्वाचित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १० : ५६
लेखकबाट थप