भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल छ: मोदी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १६ : ३५
भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल छ: मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल र पुरानो रहेको बताएका छन् । बुद्ध पूर्णिमाका अवसरमा उनले लुम्बिनीमा सम्बोधन गर्दै पछिल्लो वैश्विक अवस्थामा नेपाल र भारतबीच सम्बन्ध मजबुत हुनु महत्त्वपूर्ण भएको बताएका हुन् ।

उनले भने– ‘आज जसरी वैश्विक परिस्थिति बनेको छ । त्यसमा नेपाल र भारतको निरन्तर बलियो मित्रता, घनिष्ठता, सम्पूर्ण मानवताको हितको लागि काम गर्नेछ।’मोदीले लुम्बिनी म्युजियम, लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, डा अम्बेडकर चेयर फोर बुद्धिस्ट स्टडिजको स्थापना दुवै देशको साझा सहयोगको उदाहरण भएको बताए । उनले बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आउने सौभाग्य मिलेको भन्दै मायादेवी मन्दिरमा दर्शन गर्ने अवसर अविष्मरणीय रहेको बताए ।

उनले नेपालको वर्णन गर्दै नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा पनि छुट्टै खालको आध्यात्मिक अनुभूति हुने सुनाए । ‘आज जसरी भारत र नेपालको मित्रता र घनिष्ठता सबैको मानवताको काम गर्छ । भगवान बुद्धले दुवैको आस्था एकै सुत्रमा जोड्छन् ’उनले भने । त्यस्तै मोदीले बुद्ध मानवताको सामूहिक अवतरण भएको उल्लेख गर्दै भने, बुद्ध बोध पनि हुन् र सोध पनि। बुद्ध विचार पनि हुन् र संस्कार पनि ।