शीर्ष चारमा आर्सनललाई टोटनहमको दबाब

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : ३३
शीर्ष चारमा आर्सनललाई टोटनहमको दबाब

काठमाडौं । ह्यारी केनको दुई गोल गरेको खेलमा टोटनहमले बिहीबार राति आर्सनललाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा हासिल गरेको जितसँगै टोटनहमले इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । 

केनले पेनाल्टीमा गोलबाट टोटनहमले २२औं मिनेटमा अग्रता लिएको थियो । केनले ३७औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए । त्यसअघि ३३औं मिनेटमा रब होल्डिङले दोस्रो पहेंलो कार्डको समना गरेपछि आर्सनल दश खेलाडीमा सिमित बनेको थियो । दोस्रो हाफको शुरुमै सन ह्युङ–मिनले अर्को गोल थपेपछि टोटनहमले सहज जित दर्ता गरेको हो । 

आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले रेफ्रीको निर्णयबाट क्रुद्ध बनेका थिए । विशेषगरी पेनाल्टी र रातोको कार्डको निर्णयमा । ‘‘मेरो मनमा लागेका कुरा यहाँ भन्ने हो भने म कम्तिमा ६ महिनाका निलम्बनमा पर्छु,’’ आर्टेटाले भने । 

जितपछि टोटनहमले चौथो स्थानको आर्सनलसँगको दुरी एक अंकमा छोट्याएको छ । लिगमा ६ अंकको खेल बाँकी हुँदा आर्सनलले ६६ अंक जोडेको छ भने टोटनहमको ६५ अंक छ । आर्सनलले अब बाँकी खेलमा न्युक्यासल युनाइटेड र एभर्टनविरुद्ध खेल्न बाँकी छ । टोटनहमले भने बर्नली र नर्विच सिटीसँग खेल्न बाँकी छ । नर्विच सिटी रेलिगेशनमा परेको टिम हो भने बर्नली र एभर्टन रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको छ । 

‘‘यस्तो प्रकारको खेल सजिलो हुदैन । यो जित्नै पर्ने खेल थियो । यस्तो खेल सहज हुदैन,’’ टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘‘आज हामीलाई जितको विकल्प थिएन । हामी खेलमा केन्द्रित भयो । सही समयमा सही निर्णय लिन सफल भयौं ।’’

प्रतिक्रिया दिनुहोस