भारतका सेना प्रमुख मनोज पाण्डेले चीनले सीमा विवाद कायमै राख्न चाहेको बताएका छन्।सोमबार पत्रकारसँगको कुराकानीमा उनले चीनले सीमामा यथास्थिति परिवर्तन गर्ने प्रयास गरे भारतले रोक्ने बताएका हुन्। यति मात्र नभई उनले जवाफी कारबाही गर्ने चेतावनी दिएका छन्।
पाण्डेले पूर्वी लद्दाखको बारेमा भारतको उद्देश्य अप्रिल २०२० भन्दा पहिलेको अवस्था पुन:स्थापना गर्ने रहेको बताए। 'पहिलो र प्रमुख चुनौती भनेको अप्रिल-मे २०२० देखि विद्यमान सीमानाको अवस्थालाई समाधान गर्नु हो', उनले भने, ‘जहाँसम्म पूर्वी लद्दाखको सवाल छ, हाम्रो लक्ष्य र उद्देश्य यहाँ अप्रिल २०२० अघिको स्थिति कायम गर्ने हो। भारत र चीनबीच विश्वास र शान्ति पुन:स्थापना गर्ने उद्देश्य हो। यो एकतर्फी मामिला हुन सक्दैन। दुवैतिरबाट प्रयास हुनुपर्छ।'
उनले चीनसँगको सम्बन्ध सुधारका लागि सीमा विवादको समाधान पनि महत्त्वपूर्ण बताए। सेना प्रमुख पाण्डेले भने, 'हामीले देख्छौँ कि चीनले सीमा समस्या कायम राख्न चाहन्छ। एक देशको रूपमा हामीलाई 'पूर्ण राष्ट्र' दृष्टिकोण चाहिन्छ। वास्तविक नियन्त्रण रेखा (एलएसी) हो। एलएसीमा यथास्थिति परिवर्तन गर्ने प्रयासलाई रोक्न हामीले काउन्टर गर्नुपर्छ।'
सेना प्रमुख पाण्डेले रुस र युक्रेनबीच भइरहेको वर्तमान युद्धबारे पनि प्रतिक्रिया दिएका छन्। दुई देशबीच भइरहेको युद्धबीच भारतीय सेनाको तयारीमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नमा पाण्डेले यसमा धेरै महत्त्वपूर्ण पाठ लुकेको बताए। उनले परम्परागत युद्धको सान्दर्भिकता अझै बाँकी रहेको धारणा राखे।
उनले भारतले युद्धमा हतियार, गोली, उपकरणमा आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्ने उनले जिकिर गरे। 'हामी केही हतियार प्रणालीहरू, विशेष गरी हवाई रक्षा, रकेट, मिसाइल र केही ट्यांकका लागि रूस र युक्रेनमा निर्भर छौँ’, उनले भने, ‘यीमाथि हाम्रो आत्मनिर्भरता बढाउनु एउटा महत्त्वपूर्ण पाठ हो।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २७ बैशाख २०७९, ११ : २३
लेखकबाट थप