पाथीभरा केबलकार आयोजनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग सांसद थेबेको माग

सफल खबर संवाददाता

मंगलबार, ०५ जेठ २०८३, १२ : ४३
पाथीभरा केबलकार आयोजनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग सांसद थेबेको माग

काठमाडौँ। नेकपा एमालेका सांसद क्षितिज थेबेले पाथीभरा केबलकार आयोजनाको विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आयोजनाको निर्माण कार्य हाल स्थगित अवस्थामा रहेको उल्लेख गर्दै सरकारको निर्णयबारे स्पष्टता आवश्यक रहेको बताएका हुन् ।

उनका अनुसार आयोजनासम्बन्धी काम मौखिक निर्देशनका आधारमा रोकिएको भन्ने जानकारी बाहिरिए पनि सरकारको औपचारिक निर्णय सार्वजनिक नभएकाले स्थानीय तहमा अन्योल बढेको छ ।

सांसद थेबेले ताप्लेजुङका नागरिक अहिले आयोजनाको भविष्यबारे द्विविधामा रहेको उल्लेख गरे । एकातर्फ आयोजनाविरुद्ध विरोधका कार्यक्रम भइरहेका र अर्कोतर्फ विकास, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका दृष्टिले आयोजना अघि बढाउनुपर्ने आवाज उठिरहेको उनले बताए ।

उनले यस्ता संवेदनशील र सार्वजनिक चासोका विषयमा सरकार स्पष्ट रूपमा प्रस्तुत हुनुपर्ने धारणा राख्दै आयोजनालाई अघि बढाउने वा स्थगित गर्ने विषयमा औपचारिक निर्णय सार्वजनिक गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस