४८ जना जनप्रतिनिधिविरुद्ध फौजदारी कसुरमा  मुद्दा, २८ जना पक्राउ

पत्रपत्रिकाबाट

मंगलबार, २७ बैशाख २०७९, ०८ : ०८
४८ जना जनप्रतिनिधिविरुद्ध फौजदारी कसुरमा  मुद्दा, २८ जना पक्राउ

काठमाडौं । प्रदेश  १  मा  २०७४  सालको  स्थानीय  निर्वाचनमा  निर्वाचित  भएकामध्ये  ४८  जना  जनप्रतिनिधिविरुद्ध  फौजदारी  कसुरमा  मुद्दा  चलेको छ । पाँच वर्षको अवधिमा आपराधिक घटनामा मुछिएका दुई जना महिलासहित ४८ जना जनप्रतिनिधिविरुद्ध विभिन्न अभियोगमा प्रहरीले मुद्दा दर्ता गरेको हो ।

 मुद्दा दर्ता गरिएकामध्ये २८ जना पक्राउ परिसकेको  प्रहरीको  तथ्याङ्कमा  उल्लेख  छ  ।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार २० जना अझै फरार छन् । अपराधमा संलग्न भएको अभियोगमा प्रतिवादी बनाइएकामध्ये दुई जना पालिका प्रमुख, एक जना उपप्रमुख, २१ जना वडाध्यक्ष र अन्य वडा सदस्य रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक  (एसपी)  नवीनराज  राईले  जानकारी  दिए ।   ४८  जनप्रतिनिधि  प्रतिवादी  रहेका  फौजदारी कसुरमा ४५ वटा मुद्दा दर्ता भएका छन् ।

गम्भीरदेखि    सामान्य    प्रकृतिका    अपराधका   घटनामा   जनप्रतिनिधिविरुद्ध   प्रहरीले  अनुसन्धान  गरेर  मुद्दा  चलाएको  थियो  ।  प्रदेशभित्र  जनप्रतिनिधिविरुद्ध  कर्तव्य  ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, नागरिकता ऐन, जुवा एवं सट्टाबाजी, अभद्र व्यवहार,  ठगी,  सार्वजनिक  शान्तिविरुद्धको  कसुर, सरकारी छाप दस्तखत किर्ते, गर्भपतन, गैरकानुनी  भेला,  बहुविवाह,  हातहतियार  खरखजना, लागूूऔषध, बालविवाह, अपहरण तथा  शरीर  बन्धकलगायतका  फौजदारी  कसुरमा मुद्दा चलेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस