युवामा कालो चस्माको क्रेज, कसलाई कस्तो चस्मा सुहाउँछ ?

पत्रपत्रिकाबाट

मंगलबार, २७ बैशाख २०७९, ०८ : ०३
युवामा कालो चस्माको क्रेज, कसलाई कस्तो चस्मा सुहाउँछ ?

'कालो चस्मा लाऊ है मैयाँ विशाल बजारको 
नगर्नु है चिन्ता मैयाँ दुई चार हजारको'

काठमाडौं । कुनै समय निकै चर्चामा रहेको यो गीतको भावझै हाल युवा पुस्तामा कालो चस्माको क्रेज निकै बढ्दो छ । अझ गर्मीयाममा त कालो चस्माको प्रयोग व्यापक हुनु स्वाभाविक हो। आसन्न स्थानीय चुनावमा नगरप्रमुखको उम्मेदवार बालेन शाहको चस्माको चर्चा जताततै भएजस्तै युवा पुस्तामा गर्मी मौसममा चस्मा फेसनको प्रमुख अङ्ग बनेको छ।

धुलो तथा घामको विकिरणबाट आँखालाई सुरक्षित राख्न चस्माले महत्वपूर्ण भूमिका खेल्छ। जताततैको धुलोका कारण मास्कसँगै चस्माको प्रयोग अनिवार्यजस्तै हुन पुगेको छ। यसले समरमा फेसनमा नयाँ फ्लेबर त दिन्छ नै, साथसाथै आँखालाई सुरक्षा पनि । गर्मीयाममा सन ग्लासको प्रयोग फेसनेबल देखिनुका साथै आँखाको रक्षाका लागि उपयोगी हुन्छ। घामको चर्को प्रकाश, थुलो, धुवाँ आदिको सोझो प्रभावबाट सन ग्लासले आँखालाई जोगाउँछ।

नायिका प्रियङ्का कार्की चस्माको निकै सोखिन छिन्। उनी भन्छिन्, ‘आँखाका लागि कालो चस्माको प्रयोग निकै उपयोगी मानिन्छ। कालो चस्माले आँखालाई धुलो, धुवाँ, किटाणुबाट बचाउनुका साथै अल्ट्रा भाइलेट विकिरणबाट समेत सुरक्षा प्रदान गर्छ।’ जसरी शरीरलाई लुगा चाहिन्छ, त्यसरी नै आखाँलाई चस्मा चाहिन्छ। ‘बाहिर निस्कन चस्माबिना त कल्पना पनि गर्न सकिदैन’ कार्कीले भनिन्। 

विगत ३० वर्षदेत्रि चस्माको व्यापार गरिरहेका अर्जुन श्रेष्ठका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट छालाको रङ तथा कपालको शैलीमा निर्भर हुन्छ। श्रेष्ठले चारपाटे या गोलो अनुहार भएका व्यक्तिलाई रेक्टेगुलर तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा सुहाउने जानकारी दिए।

ओभल आकारको मुहार भएका व्यक्तिलाई भने प्रायः सबैखाले फ्रेमको चस्मा सुहाउने उनको भनाइ छ । नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा आउने खालको र छोटो नाक भएकाहरुलाई भने नाकको सिरानमै अडिने खालको चस्मा राम्रो सुहाउने उनको सुझाव छ। गोरखापत्रमा एक सामग्री छापिएको छ।
 

प्रतिक्रिया दिनुहोस