देशमा चुनावी चटारो : कृषकलाई चुनावभन्दा आफ्नो उत्पादन बिक्रीको चिन्ता

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १० : ३३
देशमा  चुनावी चटारो : कृषकलाई चुनावभन्दा आफ्नो उत्पादन बिक्रीको चिन्ता

झापा । देश चुनावी चटारोमा छ । उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ । उम्मेदवार घर–घरमा पुगेका छन् । तर, गाउँका कृषकलाई चुनावभन्दा आफ्नो उत्पादन बिक्रीको चिन्ता छ । कृषिक आफ्नै काममा मस्त छन् । 

गौरादह–८ की सुगवती राजवंशी वर्षभरि सिजनअनुसाको खेती गर्छिन् । यसपटक उनले आठ कठ्ठामा काउली लगाएकी थिइन् । ६ कठ्ठामा साग, परवल, भेन्डीलगायतका तरकारी लगाएकी छिन् । उनको परिवार कृषि पेसाले नै चलेको छ । विशेष गरेर उनी तरकारी खेती गर्छिन् । राज्यले उनको खेती देखेको छैन । तर, आफ्नै बलबुताले खेती गरिरहेकी छन् । ‘चुनावमा जसलाई जिताए पनि उस्तै हो । हामी किसानको समस्या जहाँको त्यहीँ हुन्छ,’ उनी भन्छिन्, ‘भोट माग्न त आउँछन् । तर, हामी आफ्नै काममा व्यस्त छौँ । जितेपछि अनुदान पनि आफ्नै मान्छेलाई दिन्छन् ।’ 

उत्पादन गरेका कृषिउपज विचौलियालाई दिन्नन्, रनजवंशी । ग्रामीण र गुद्री बजारमा आफैँ लगेर बिक्री गर्छिन्, उनी । अर्थात् उनको आफ्नै उत्पादन र आफ्नै बजार छ । ‘गाउँमा किन्नेलाई दिँदा त आधा पनि भाउ दिँदैनन् । त्यस्रले बजारसम्म आफैँ लान्छु,’ उनी भन्छिन् । उनका बजार गौरीगञ्ज र गौरादह हो ।

‘गौरीगञ्ज हप्तामा दुईपटक लाग्छ । गौरादह हप्तामा दुईपटक लाग्छ । म यही दुईवटा बजारमा लान्छु,’ उनी भन्छिन्, ‘व्यापार पनि राम्रो भइरहेको छ ।’ तरकारी उत्पादनले उनको परिवार राम्ररी चलेको छ । ‘परिवार चाहिँ राम्ररी चलाउन सकेको छु, उनी भन्छिन् । 

गौरादह–७ की नेहमती राजवंशी आफैँले उत्पादन गरेको कृषिउपज आफैँ बजारसम्म ल्याउँछिन् । यसरी आफ्नो उत्पादन आफैँ बजारसम्म ल्याउँदा केही नाफा हुन्छ । यसपटक उनले तीते करेला उत्पादन गरेकी छन् । तर, यसपटक करेलाको मूल्य घटेको छ । भारतीय तरकारीले बजार ढाक्दा नेपाली कृषक मारमा छन् । ‘पहिला एक सय रुपैयाँ किलोसम्म विक्री गर्थ्यौँ । यसपटक मूल्य नै छैन । ३० रुपैयाँदेखि ४० रुपैयाँ केजीसम्म बिक्री गर्नुपरेको छ । बजारमा धेरै भएर पनि हो । इन्डियाबाट आउने तरकारी सस्तो भएर पनि होला,’ उनले भनिन् ।

विश्वेश्वरप्रसाद मेहेताले गौरीगञ्जमा एक बिघा तरकारी खेती गरेका छन् । उनी गौरादह र गौरीगञ्जको स्थानीय बजारमा तरकारी आफैँ बिक्री गर्छन् । तर, विगतको तुलनामा नाफा कम हुने गरेको उनी बताउँछन् । ‘मल भनेको बेला पाउँदैन । इन्डियाबाट ल्याउँदा मल पनि महँगो पर्छ । तर, तरकारीको मूल्य बढ्दैन,’ उनी भन्छन्, ‘भारतबाट आउने तरकारीले हामीलाई मर्कामा पारेको छ । उता मल पनि सस्तो हुन्छ । त्यसकारणले सस्तोमा बेच्दा पनि नाफा हुन्छ । तर, हाम्रो त्यस्तो हुँदैन । खेती गर्दा खर्च धेरै लाग्छ । तर, खर्च उठाउन पनि मुस्किल पर्छ ।’

प्रतिक्रिया दिनुहोस