कालिकोट । अर्गानिक तरकारी खेती गरेर खाँडाचक्र नगरपालिका वडा नं ५ तेस्रो बजारका भिम बहादुर कार्कीले आफूलाई सफल किसानका रूपमा चिनाएका छन । क्यान्सर रोग संग लडीरहेका कार्की अहिले मासिक ५० हजार रुपैयाँभन्दा बढी घरमै बसी बसी कमाउँछन । बिरामीका कारण रोजगारीको लागि कतै जान र गरुङ्गो भारी समेत बोक्न नसक्ने कार्कीका लागी परिवार पाल्न मुख्य आम्दानीको श्रोतनै तरकारी खेती हो ।
आफै गर्छन जैविक विषादीको उत्पादन
२०७९ सालका इकोहिमाल नेपाल संस्था कालिकोटमा लागु भएदेखि नै उनले अर्गानीक तरकारी खेती सुरु गरे। इकोहिमाल संस्थाले आफ्नो परियोजना लागु गरेको ठाउँमा कृषकहरुलाई विभिन्न तालिम दिएर अर्गानीक तरकारी खेती गर्न मात्र प्रेरीत गर्दछ । तरकारीलाई आवश्यक पर्ने जैविक विषादी उहाँ आफैं बनाउछन् । जंगल र घरमा पाइने विभिन्न प्रकारका वस्तु संकलन गरेर जैविक विषादी तथा प्राङ्गारीक मल बनाउने गरेको उनी बताउँछन् । आफूलाई आवश्यक पर्ने विषादीको ९० प्रतिशत आफैले बनाएको जैविक विषादीबाट पूरा हुने गरेको उनको भनाई छ ।
इकोहिमाल नेपालको सहयोगमा तरकारी संकलन केन्द्र स्थापना हुदाँ कृषकहरु थप उत्साहीत
कार्कीले तरकारी खेती गरेको वरपर अन्य थुप्रै किसानहरुले पनि तरकारी खेती गर्ने गर्दछन् । सो ठाउँलाई तरकारी उत्पादन कपेट क्षेत्रका रुपमा पनि चिनिन्छ । त्यहाँ उत्पादन भएको तरकारी केही समय अगाडी बिक्री गर्न नसकेर खेर समेत जाने गरेको थियो । त्यो अवस्था अन्त्य गर्न अगुवा किसान कार्की सहीतका किसानहरु मिलेर नैनेलदेव कृषक समुह गठन गनेर संयुक्त रुपमा तरकारी संकलन गरेर बिक्री गर्ने गरेका थिए । अहिले त्यही कृषक समुहको लागी इकोहिमाल नेपालले रु ४ लाख ५० हजार सहयोग गरेर तरकारी संकलन केन्द्र निर्माण समेत भइसकेको छ । संकलन केन्द्रमा समुहले पनि आधा लगानी रहेको छ । अहिले त्यहाँबाट स्थानिय वजार सहित जुम्लासम्म तरकारी जाने गरेको छ । कार्की उक्त समुहका अध्यक्ष समेत रहेका छन् ।
अर्गानीक तरकारी नै पहिचान
रासायनिक विषादी प्रयोग गरी उत्पादन भएको तरकारीले मानव जिवमा दिर्घकालिन रुपमा धेरै असर गर्ने भएकाले रासायनिक विषादी प्रयोग नै नगरी उनले अर्गानिक तरकारी खेतीमा सफलता प्राप्त गरे । कार्कीले इकोहिमाल नेपालबाट प्राप्त भएका २ वटा तथा आफ्नै लगानिमा तयार गरिएको प्लास्टिक टनेल र खुल्ला जमिनमा तरकारी खेती लगाएका छन । टनेलमा काँक्रा, गोलभेंडा, भन्टा, भेडेखुर्सानी, रायोको साग, मुला लगायतका अर्गानिक तरकारी उत्पादन हुन्छ । कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यवसायिक कृषिमा लागेको कार्कीले बताए । तरकारीबाट मासिक २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म नाफा लिने गरेको उनको भनाइ छ । क्यान्सर रोग संग लड्दै कृषि क्रान्ति गरेका कार्की भन्छन् ‘अल्छी नगरे गाउँमै सुन फल्छ लाज नमाने जीवन सहज चल्छ ।’ लाज र अल्छी नमानी आफ्नै ठाउँमा सानो लगानीमा कृषि व्यवसाय सुरु गरेमा कामको लागि विदेश जान नपर्ने उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १५ : ११
लेखकबाट थप