दलहरूको चुनाव प्रचारप्रसार उत्कर्षमा

पत्रपत्रिकाबाट

सोमबार, २६ बैशाख २०७९, ०८ : ०४
दलहरूको चुनाव प्रचारप्रसार उत्कर्षमा

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचन आउन साता दिन मात्र बाँकी रहँदा दलहरूले प्रचारप्रसारलाई उत्कर्षमा पुर्‍याएका छन्। दलहरूले माइकिङ, घरदैलो, आमसभा र कोणसभाजस्ता गतिविधि गरेर मतदाताको ध्यान आफूतिर तान्ने कोसिस गरिरहेका छन्।

सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले चुनावी प्रचार अभियानलाई गाउँगाउँ पुर्‍याएको छ भने प्रतिपक्षी दल नेकपा (एमाले) र अन्य ससाना दलदेखि स्वतन्त्र उम्मेदवारहरूसमेत प्रचारप्रसारको दौडमा तँछाडमछाड छन्।

केन्द्रमा गठबन्धनभित्रै परेको तर, उदयपुरमा केही वडाबाहेक प्रमुख र उपप्रमुख तहमा तालमेल बाहिर रहेको जनता समाजवादी पार्टीले पनि प्रचार अभियानलाई तीव्र बनाएको छ। त्यस्तै पहिलो पटक चुनावी अभियानमा सहभागी मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (एकीकृत माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, नेशनल मंगोल अर्गनाइजेसन (एमएनओ) र सचेत नेपाली पार्टीले पनि उम्मेदवारी दिएको ठाउँमा प्रचार अभियानलाई तीव्रता दिंदै छन्।

ठूला दलहरू बजार केन्द्रित प्रचार अभियान छेडिरहेका छन् भने गाउँमा घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। दलहरूले आफ्नो उम्मेदवारलाई बाक्लो बस्ती रहेका ठाउँ, पालिका केन्द्र बजार र मतदाता बढी रहेका स्थानमा बढी प्रचारप्रसार केन्द्रित गर्दैछन्। जसअनुसार सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुची र नेपालटार लगायत बजारमा प्रचारप्रसारले वातावरण र ध्वनि प्रदूषण भइरहेको अवस्था छ।

गाउँघरतिर पनि प्रचार अभियानमा दलहरू उत्तिकै लागिरहे पनि त्यतातिर भने बढीजसो घरदैलो कार्यक्रमले स्थान पाएको छ। गठबन्धन दलहरू एकले अर्कालाई धोका नदिने सर्तमा एकताबद्ध भएर चुनावी अभियानमा लागेका छन्। कांग्रेस, माओवादी, एकीकृत समाजवादीका केन्द्र र जिल्लास्तरका नेताहरू मिलेर चुनावी प्रचार अभियानमा एकठ्ठा प्रचारमा लागिरहेका छन्।

माओवादीका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल) साता दिन यता गठबन्धनको प्रचार अभियानमा छन्। उनी जिल्लाका ८ वटै पालिका स्तरीय चुनावी प्रचार अभियानमा सहभागी भइरहेको पार्टीले जनाएको छ। साता दिन यता चुनावी प्रचार अभियानमा निस्केका राई गठबन्धन टोली लिएर कटारी नगरका विभिन्न वडा, ताप्ली, लिम्चुङबुङ, रौतामाई हुँदै उदयपुुरगढी गाउँपालिका स्तरीय चुनावी सभा र घरदैलोमा पुगिसकेका छन्। प्रचारप्रसारको मौन अवधि सुरु नहुँदै उनलाई सदरमुकाम त्रियुगा, चौदण्डीगढी र बेलका नगरको प्रचार अभियान भ्याइसक्नुपर्ने चटारो छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस